सप्तरीबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ

राजविराज, ३१ साउन । सप्तरीबाट मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री, सुनसरीको कोशी गाउँपालिका–का २३ वर्षीय मो.मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय मो.अकबर र उदयपुरको बेलका नगरपालिका–१० का २२ वर्षीय रामहरी श्रेष्ठ छन् ।

गत शुक्रवार दिउँसो जिल्लाको सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडीबाट प्रदेश १०५–००४ प.०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएसँगै खोजी कार्य थालिएको र सोही क्रममा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भलुवा सडक खण्डबाट मोटरसाइकलसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

अनुसन्धानकै क्रममा उनीहरुल अन्य प्रदेश १०२–०४१ प.३४१८, बा ९० प.३२७४, प्रदेश २०३–०१३ प.२०५७ र स.७ प.९२५७ नम्बरको मोटरसाइकल पनि चोरी गरेको पाइएको उनले बताए । चारै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद गराइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस