विरामी पर्यो पिसिआर मेसिन, सेवाग्राही निरास

राजविराज, ६ भदौ । तीन सातादेखि ठप्प रहेको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर परीक्षण अझैं सुचारु भएको छैन् । गत साउन महिनाको दोस्रो सातादेखि पिसिआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको हो ।

कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेको बेला अस्पतालमा परीक्षण नै रोकिएपछि परीक्षण गराउन आएका सर्वसाधारणहरु निरास बन्न थालेका छन् । ‘४/५ दिनदेखि ज्वरो र खोकी आइरहेको छ, शंका लागेर जाँच गराउन आएका थिए तर यहाँ परीक्षण नै हुँदैन भन्नुहुन्छ’ नाम नछाप्ने सर्तमा एक सेवाग्राहीले भने–‘कोरोना परीक्षण विना नै फर्किनुपर्छ ।’

उनले महामारीको बेला पनि स्वास्थ्य जस्तो संवेदनशील कार्यमा सम्बन्धित पक्षले ध्यान नदिनु सप्तरीवासीको लागि दुखद् विषय रहेको बताए । ‘मेसिनमा खराबी आएसँगै मर्मततर्फ अस्पताल प्रशासनले ध्यान पुर्याउनुपर्ने थियो तर तीन साताभन्दा बढी समयसम्म पनि मर्मत नहुनु भनेको यहाँका सम्वन्धित पक्षले गम्भीरता नदेखिएको स्पष्ट हुन्छ’ उनले भने–‘कोरोनाको शंका लागेर आएका म जस्ता कतिपय सेवाग्राहीहरु त्यसै घर फर्किरहेका छन्, कोरोना नहोस् तर भयो भने गाउँ हुँदै जिल्लाभरि फैलिने निश्चित छ ।’

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीत कुमार झाले प्राविधिक गडबडी देखिएको मेसिन कामै नलाग्ने भइसकेको बताए । ‘परीक्षणको रिपोर्ट नै गलत देखाउन थालेपछि हामीले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य ल्याबमा जानकारी गराएपछि प्रदेशबाट प्राविधिकको टोली पनि आएकै हो तर मेसिन ठिक हुने अवस्थामा छैन्’ उनले भने–‘अब अर्कै मेसिन ल्याउनुपर्ने हुन्छ, त्यसकालागि जानकारी गराइसकेका छौं ।’

अर्को मेसिन जडान भएसँगै पुनः परीक्षण थालिने मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस