राजविराज । प्रेमविवाह अस्वीकार भएपछि सप्तरीको सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवती ज्योति पासवानले आत्महत्या गरेकी झण्डै दुई महिना बितिसक्दा समेत सप्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधब प्रसाद काफ्लेका अनुसार जिल्ला अदालत सप्तरीबाट कृष्णका नाममा पक्राउ पुर्जी जारी भए पनि उनी फेला पर्न नसकेको उनले बताए । ‘खोजी जारी छ तर फेला पर्न सकेका छैनन्,’ उनले भने ।
पोखरियाकै अखिलेश मिश्रका छोरा कृष्ण १ वर्षदेखि ज्योतिसँगको प्रेममा थिए । उनले फागुनमा ज्योतिसँग बिहे गरेका थिए तर ज्योतिलाई अपनाउन कृष्णको परिवार तयार भएन । कृष्णले छोरीलाई प्रेमजालमा फसाई यौनशोषण गरी शारीरिक र मानसिक यातना दिई छाडेकाले पीडामा रहेकी छोरीले आत्महत्या गर्न बाध्य भएको बुबा प्रमोदले जाहेरीमा दाबी गरेका छन् । ज्योति साउन २३ मा माइतीकै भान्सा कोठामा पासो लगाई आत्महत्या गरेकी थिईन।