राजविराज भन्सारः करोडौं रुपैयाँको सवारी साधन कबाडी बन्दै

राजविराज, २ चैत । सप्तरीको राजविराज भन्सार कार्यालयको लापरवाहीका कारण सरकारी सम्पत्तिका रुपमा रहेका करोडौं रुपैयाँ मूल्य बराबरका सवारी साधनहरु थन्किएर कबाडी बन्दै गएको छ ।

कार्यालयले विगत १० वर्षदेखि नै लिलामी प्रक्रियाअघि बढाउन सकेको छैन् भने ट्रक, स्र्कोपिओ, कार, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकलसहितका सवारी साधनहरु सवारीहरु थोत्रिने अवस्थामा पुगेका छन् ।

विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनहरु लिलाम गर्नुपर्ने हुन्छ । तर, भन्सार कार्यालयले २०६८ सालदेखि नै लिलामी प्रक्रिया अघि बढाउन सकेको छैन् । ‘भन्सार कार्यालयले लिलामी गर्न नसक्दा ट्रक, कार, स्र्कोपिओ, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकलसहितका सवारी साधनहरु थोत्रिने अवस्थामा पुगेको देखिन्छ भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेको छ’ राजविराज नगरपालिका–७ का सुखराम यादवले भने–‘सवारी साधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै गइरहेको छ भने करोडौँ रुपैयाँ राजस्व समेत गुम्ने खतरा बढेको छ ।’

यद्यपी, भन्सार कार्यालयले लिलामी प्रक्रियामा लैजानुपर्ने सवारी साधनलाई वेवास्था गर्दै आउनु दुःखद् विषय रहेको उनको भनाई छ ।

‘सरकारकै तलव भत्ता खाएर सरकारी सम्पत्तिको सत्यानास गर्ने कार्यमा कर्मचारीहरु लागेको देखिन्छ’ तिलाठी कोइलाडी गाउँपालिका–७ का केशवकुमार मण्डलले भने–‘यतिका वर्षसम्म लिलामी गर्न नसक्नुले कर्मचारीकै कमजोरी देखिन्छ, यदि कर्मचारीहरु जिम्मेवारी भएको भए ती सवारी साधनलाई लिलाम गरेर राजस्व गुम्नबाट जोगाउनुपर्नेतर्फ चासो देखाउनुपर्ने हो ।’

विवरण समेत छैन्

राजविराज भन्सार कार्यालय परिसरमा करिब ४ सयभन्दा बढी मोटरसाइकल र दुई दर्जनभन्दा बढी चार पाङ्ग्रे सवारी साधन थुपारिएका छन् । यद्यपी, कार्यालयसँग ती सवारी साधनको यकिन गर्नसक्ने विवरण भने छैन् ।

हाल सो सवारी साधनको विवरण तयार गर्ने कार्य भइरहेको र त्यसपछि लिलामी प्रक्रिया अघि बढाउने भन्सार अधिकृत दिपेन्द्र कुमार झाले बताए । ‘यसअघिका कर्मचारीहरुले लिलामी प्रक्रिया अघि बढाउनुपर्नेतर्फ काम गर्नुपर्ने थियो तर विवरण पनि तयार गरेको छैन्’ उनले भने–‘जनशक्ति अभावका कारण भन्सारले बुझेका सवारी साधनको लिलाम प्रक्रियामा समय लागिरहेको छ, यद्यपी, अब हामी लिलामी प्रक्रिया अघि बढाउनेतर्फ काम गरिरहेका छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस