उपेक्षित वर्गका लागि जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था हुन्छ : मुख्यमन्त्री राउत

लहान । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सदियौंदेखि शासक वर्गबाट उपेक्षित रहदै आएको समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताएका छन् । आइतवार सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा आयोजना गरिएको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘उपेक्षित वर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीकालागि मधेश सरकार ठोस योजनाका साथ अघि बढेको छ’ उनले भने–‘समाजको आधा हिस्सा ओगटेका महिलाहरुलाई शिक्षामा आकर्षित गर्न आफूहरुले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउँदै रोजगारीकालागि मधेशमा ५० प्रतिशत आरक्षणको व्यवस्था समेत गरेका छौं ।’

मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यद्वारा उपेक्षामा पारिएका दलित, मुस्लिम ,आदिवासी–जनजाति लगायतका समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्नमा लागेको बताए ।

मधेश सरकारले शुरु गरेको अभियानको प्रतिफल १०/१५ बर्षपछि देखिने उल्लेख गर्दै उनले मधेश आन्दोलनको क्रममा मधेशी जनताले देखेका सपना मधेश सरकारले क्रमश पूरा गर्दै जाने जिकिर गरे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री सत्रुधन प्रसाद सिंह, प्रदेशसभा सदस्य सुनिता राम लगायतले सम्वोधन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस