जनकपुरधाम, ३० चैत । रौतहटमा एक प्रधानाध्यापकसहित दुई जनालाई तीन लाख रुपैयाँ घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बुधवार बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको हो ।
करार अवधि थप गर्नका लागि सेवाग्राहीसँग माग गरिएको सो रकम लिँदै गर्दा दुवै जनलाई यमुनामाई गाउँपालिका–४ सरुअठ्ठाबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।