राजविराजमा ‘ग्रीन, क्लिन र पिंक’अवधारणाका आधारमा तत्कालै काम अघि बढाइने: मेयर भिमराज

काठमाडौं, ९ जेठ । सप्तरीको राजविराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भिमराज यादवले नगरको सौन्दर्यिकरण सुरु गरी ‘ग्रीन, क्लिन र पिंक’ (जीसीपी) अवधारणाका आधारमा याेजना तहत तत्कालै काम अघि बढाइने बताएका छन् ।
साेमबार नवनिर्वाचित जनप्रतिनिधिहरुकाे शपथ एवम् पदभार ग्रहणकाे आयाेजना गरिएको कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् । ‘राजविराजमा भएको फोहोरमैला व्यवस्थापनका लागि आफु चिन्तित छु’ उनले भने ‘साेही कुरालाई मध्ये नजर गर्दै नगरको सौन्दर्यिकरण सुरु गरी ‘ग्रीन, क्लिन र पिंक’ (जीसीपी) अवधारणाका आधारमा काम गर्ने याेजना तहत तत्कालै काम अघि बढाइने छ।’
नगरप्रमुखको पदभार ग्रहण गर्दै यादवले राजविराजको विकास र समृद्धिका लागि अग्रसर रहने प्रतिबद्वता व्यक्त गरे । ‘नगरमा शिक्षा, स्वास्थ्य, सरसफाई, अव्यवस्थित सवारी पार्किङलाई ब्यवस्थित गर्न दत्तचित्त भएर लाग्ने छु र यी सब कार्य नै आफ्नाे पहिलो प्राथमिकता हाे’ नगरप्रमुख यादवले भने ‘सरकारी विद्यालयमा निजी विद्यालयभन्दा गुणस्तरीय शिक्षा दिने स्थलको विकास गर्नेछु, गजेन्द्रनारायण सिंह अस्पालमा प्रभावकारी स्वास्थ्य सेवा दिने अस्पतालको रुपमा विकास गर्ने प्रण गर्दछु ।’
कार्यक्रममा नवनिर्वाचित प्रमुख यादवलाई सप्तरीका प्रमुख निर्वाचन अधिकृत एवम् सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणी ज्ञवालीले शपथ तथा पदभार ग्रहण गराएका थिए । नगरप्रमुख यादवले शपथ तथा पदभार ग्रहण गरिसकेपछि उप प्रमुख इसरत प्रवीण, वडा अध्यक्ष तथा सदस्यहरुलाई उनले सपथग्रहण गराएका थिए ।
नवनिर्वाचित नगरप्रमुख यादवको अध्यक्षता तथा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य रन्जु ठाकुर, पूर्व निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मुख्य निर्वाचन अधिकृत एवम् सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश ज्ञवाली, नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, सप्तरी उद्योग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
कार्यक्रममा स्वागत राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवले गरेका थिए ।
Author:



क्याटोगरी छान्‍नुहोस