उपचारमा लापरवाही हुँदा महिलाको ज्यान गयो

राजविराज, १२ साउन । सप्तरीमा उपचारमा लापरवाही हुँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको रुपनी गाउँपालिका–२ पौँवा टोलकी ३५ वर्षीया सियादेवी मण्डलको ज्यान गएको हो ।

बुधवार साँझ छाती दुखेपछि मण्डललाई उपचारको लागि सदरमुकाम राजविराज ल्याइएको थियो । राजविराज–६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमै उनको उपचार सुरु गरिएको थियो ।

क्लिनिक सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उपचार गरिरहदा मण्डल अचानक अचेत भएकी थिइन । सो पछि मण्डललाई क्लिनिकदेखि करिब ५ मिनटकै दुरीमै रहेको छिन्नमस्ता अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले मण्डललाई मृत घोषणा गरिएको थियो ।

मृतकका आफ्न्तले औषधी पसल सञ्चालकले यही उपचार भइहाल्छ भनि भ्रममा पारेर लापरवाहीपूर्ण तरिकाले उपचार गर्दा आफ्नो मान्छेको ज्यान गएको दावी गरेका छन् । उनीहरुले घटनाको छानविन र दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

उता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बेलैमा मण्डललाई अस्पताल नपर्याउँदा उनको मृत्यु भएको बताए । ‘औषधी पसलमा नभई स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ भन्ने आफ्न्तमा चेतनाको कमी देखियो’ उनले भने–‘जसको कारणले अनाहकमा ज्यान गुमाउनुपर्यो ।’

प्रहरी नायव उपरीक्षक काफ्लेले घटनाबारे अनुसन्धान भइरहेको र सोधपुछका लागि औषधी पसलका एक जना सञ्चालकलाई नियन्त्रणमा लिइएको बताए । मृतक मण्डलको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस