राष्ट्रपतिबाट प्रमाणीकरण भएका ५ विधेयकबारे आजको प्रतिनिधि सभामा जानकारी गराइने

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच विधेयकबारे जानकारी गराइने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

संसद सचिवालयले आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी थिइन् ।

त्यस्तै आजको बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस