‘मोबाइल चार्जरको वायरले घाँटी थिचेर असईको ज्यान लियो’ (फ्लोअप)

राजविराज – असोज २० गते दिउँसो शव फेला परेको असई सत्यनारायण यादवलाई मोबाइल चार्जरको वायरले घाँटी थिचेपछि ज्यान गएको पाइएको छ ।

असोज १८ गतेदेखि वेपत्ता रहेका यादवको दुई दिनपछि सीमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो । शव भेटिएसँगै प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

सोही क्रममा उनकै सहकर्मी प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । खत्रीको वयानअनुसार असई यादवलाई मोबाइल चार्जरको वायरले घाँटी थिचेपछि ज्यान गएको स्थानीयहरु बताउँछन् ।

‘खत्रीलाई पक्राउ गरेपछि घटनास्थल ल्याइएको थियो । सोही क्रममा खत्रीले त्यस्तो वयान दिएको सुने ।’ छिन्नमस्ता गाउँपालिकाका रामनारायण यादवले भने, ‘त्यो राति खत्री र यादवबीच अन्धाधुन्ध कुटाकुट भएको आवाज सुनिएको थियो ।’

खत्रीले वयानको क्रममा पनि त्यहीँ नै भनिरहेको पनि सुनेको उनको कथन छ । ‘पछि प्रहरीले मोवाइलको चार्जर पनि बाँस घाँडीबाट बरामद गरे’ रामनारायणले भने, ‘मृतक यादव कसैलाई दुःख दिएको थिएन । उनी राम्रो मान्छे हुनुहुन्थ्यो । त्यसैले उनको परिवारले न्याय पाओस् भनि हामी गाउँको चाहना छ।’

बीओपी छिन्नमस्तामा कार्यरत मृतक यादवको हत्या घटना पछि सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानिएको छ भने सशस्त्र प्रहरी हेडक्वार्टरले पनि सशस्त्रका कार्य विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिनमा जुटेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस