सौरभ यादव
राजविराज । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ८ का ६० वर्षीय बुधन सदा चिसोकै कारण १५ दिनदेखि बिरामी छन् । घरमा न्यायो कपडा छैन । नयाँ पत्रिकाकर्मी पुग्दा उनी भुइँमा पराल राखेर सुतेका भेटिए । छेउमै दुई–तीनजना बालबालिका पनि थिए । पाँच दिनदेखि चलेको शीतलहरले अब कसरी बाँच्ने भन्ने उनलाई पिरेको छ । ‘मंसिरको जाडो जेनतेन काटियो, अब पुस र माघको शीतलहर कसरी काट्ने चिन्ताले सताउँदै छ,’ चिसोले काँप्दै गरेका उनले भने ।
शीतलहरकै कारण मजदुरी गरेर दैनिक गुजारा चलाउने बुधनजस्तै यहाँका दलित परिवारलाई समस्या भएको छ । ‘दुई दिनदेखि भुजा खाएर बसेको छु । नौजनाको परिवार छ । श्रीमती पनि कतै काम गर्न जान पाएकी छैन,’ उनले दुःखेसो पोखे ।
तिलाठी–कोइलाडी– ८ सडकछेउ ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा ४५ वर्षीया अनिता सदाको परिवार बस्छ । दुई छोरासहित उनी छाप्रोमा जसोतसो जिन्दगी धान्दै छिन् । गत वर्ष यही छाप्रोमा जाडो सहन नसकेर अनिताका पति गनेसी सदाको मृत्यु भयो । उनी दमको रोगी थिए ।
दमको रोगी गनेसीलाई न्यानो चाहिन्थ्यो । तर, राम्ररी घामपानी पनि छेक्न नसक्ने छाप्रो अनि चिसो भुइँमा निदाउनुपर्ने बाध्यताका कारण उनले ज्यान गुमाए । ‘कहिलेकाहीँ त आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ,’ अनिताले भनिन्, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ । चार दिनदेखि चिउरा खाएर बसेकी छु । शीतलहरले कतै काम पनि गर्न गएको छैन । घरमा चुलोसमेत बलेको छैन ।’
छिन्नमता गाउँपालिका– ३ की सरिता मरिकलाई विगतजस्तै यसपटक पनि शीतलहरले साह्रै सताएको छ । साहु–महाजनकहाँ मजदुरी गरेर परिवार चलाउँदै आएकी उनी अहिले घरमै बस्नुपरेको छ । काम गर्न नजाँदा पैसा आउँदैन, जसकारण भोकभोकै बस्नुपरेको उनको गुनासो छ । ‘अहिले ठन्डीकै कारण कतै जान पाएको छैन । जाडोमा न्यानो कपडा जोड्ने हैसियत छैन, चिसो भुइँमा पराल ओछ्याएर सुत्छु । चिसोले दिनभर बाहिर निस्कन नसक्दा छाक टार्न समस्या छ,’ उनले भनिन् । नयाँ पत्रिकामा सप्तरीबाट सौरभ यादवले लेखेको समाचार छ ।