जनकपुरधाम । दक्षिण एसियाली राष्ट्र पाकिस्तान पछिल्ला महिनाहरूमा चर्को आर्थिक संकटको सामना गरिरहेको छ । यसअघि दक्षिण एसियाली राष्ट्र श्रीलंकाले भोगेको जस्तै आर्थिक समस्या पाकिस्तानले भोगेको छ । आन्तरिक सूचकहरूसमेत कमजोर रहेको र अत्यधिक बढेको व्यापारघाटाले पाकिस्तान दैनिक उपभोगमा समेत कमी ल्याउने गरी गतिविधि घटाउने कार्यमा केन्द्रित भएको छ ।
गत साताको मंगलबार (जनवरी ३) मा मात्रै पाकिस्तानको मन्त्रिपरिषद् बैठकले राति ८ बजेपछि किनमेल केन्द्र र बजार पूर्ण रूपमा बन्द गर्ने र अन्य क्रियाकलाप पनि घटाउँदै लैजाने नीति लिएको छ । फेब्रुअरी १ बाट अझ कडाइ गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद्ले सरकारी कामकारबाहीसमेत घरबाटै गर्नेगरी नीति अघि बढाएको छ । सरकारी क्षेत्रमा ऊर्जाको खपत ३० प्रतिशत घटाउने नीति अवलम्बन गरेको छ । ऊर्जाका कारण अत्यधिक घाटा बेहोरेको पाकिस्ताले ऊर्जा खपत कम गर्न यस्तो नीति अवलम्बन गरेको हो ।
सरकारले चालेका विभिन्न कदमबाट दैनिक ९ हजार मेगावाट बिजुलीको खपत घट्ने र सञ्चितिको दबाबलाई टार्न सकिने पाकिस्तानको प्रक्षेपण छ । कोरोना संकट र त्यसपछि सुरु भएको रूस–युक्रेन युद्धले विश्वका धेरै मुलुकमा समस्या सिर्जना भएको समयमा पाकिस्तानमा देखिएको जस्तो समस्याले धेरै मुलुकको अर्थ व्यवस्था कमजोर बनाएको छ ।
पाकिस्तान आर्थिक मन्दीको बाटोमा रहेको चर्चा केही महिनापहिलेदेखि नै सुरु भएको थियो । तर, पाकिस्तान राजनीतिक अस्थिरता, बाढीका कारण भोगेको ठूलो क्षति र अत्यधिक रूपमा उठाएको व्यावसायिक वैदेशिक ऋणका कारण समस्यामा परेको छ ।
पाकिस्तान विदेशी मुद्रा सञ्चिति अहिले १ महिनालाई पनि धान्न नसक्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरूले उल्लेख गरेका छन् । नेपालमा जस्तै पाकिस्तानको पनि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रषेण हो । त्यत्तिकै भरथेग पर्यटन क्षेत्रले पनि गर्ने गरेकोमा पछिल्लो समय विप्रेषण र पर्यटन आगमनमा उल्लेख्य कमी आएपछि पाकिस्तान थप समस्यामा परेको हो ।
यो आइतबारसम्ममा पाकिस्तानसँग विदेशी मुद्रा सञ्चिति करिब ४.५ अर्ब डलर मात्र छ । पाकिस्तान केही समयभित्रै अन्य देशहरूको ऋण तिर्नुपर्ने बाध्यात्मक अवस्थामा छ । अब पाकिस्तान विदेशी मुद्राका लागि पूर्ण रूपमा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) मा आश्रित रहनुपर्ने अवस्थामा पुगेको छ । उसलाई ऋण दिन मानिरहेका छैनन् । पाकिस्तान फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे एरियामा रहेका कारण सहजै ऋण पाउन सक्ने अवस्था छैन ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले देशलाई आवश्यक पर्ने रकम उपलब्ध गराउन पाकिस्तान सरकारले कडा आर्थिक नीतिहरू अवलम्वन गर्नुपर्ने सुझाव दिएको छ । केही नीति तथा निर्णयहरू गरिरहेको छ ।
विश्व बैंकले मंगलबार जारी गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनमा पनि पाकिस्तानको दूरावस्था देखाइएको छ । यसअघि पाकिस्तानको आर्थिक वृद्धिदर चालु वर्षमा ४ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा २ प्रतिशत मात्रै हुने पुन: प्रक्षेपण गरेको छ । यसको अर्थ पहिले गरेका अनुमान पनि फेल खाँदै जाने अवस्था सिर्जना भएको छ ।
गत वर्षको विनाशकारी बाढीले देशको अर्थतन्त्रलाई नराम्रो बनाएको र मुख्यतया पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३ प्रतिशत हिस्सा ओगट्ने र ३७ प्रतिशतलाई रोजगारी प्रदान गर्ने कृषि उत्पादनमा ठूलो क्षति पुगेको उल्लेख छ । ‘नीति अनिश्चितताले आर्थिक दृष्टिकोणलाई थप जटिल बनाउँछ । पाकिस्तानमा हालै आएको बाढीले कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशतबराबरको क्षति गरेको अनुमान गरिएको छ,’ विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२२ को अन्त्यमा, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६.७ विलियन डलर रहेकोमा अहिले घटेर ४.५ विलियन डलरमा झरेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निरन्तर कमजोर बनेको छ । अहिले उसको मुद्रा गत वर्षको तुलनामा २८ प्रतिशतले कमी आएको देखिएको छ । खाद्य सुरक्षा संकट बढ्दै गएपछि मुद्रास्फीतिले कीर्तिमानी उचाइमा पुगेको छ ।
यसबीचमा कतिपय वस्तुको मूल्यवृद्धिदर ६२ प्रतिशतसम्म पुगेको छ । औसत मूल्यवृद्धिदर २३ प्रतिशत माथि छ, खाद्यवस्तुको मात्रै ३५ प्रतिशत माथि मूल्यवृद्धिदर छ ।