गाउँपालिका अध्यक्ष दिउँसै मदिराले मातिएपछि…

राजविराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ । बुधवार दिउँसो मादिरा सेवन गरेर आएका अध्यक्ष चौधरीले कार्यालय प्रवेश गर्दै सबै कर्मचारीलाई गालीगलौज गरेका कारण कर्मचारीहरुले सूचना नै निकालेर विहिबार कामकाज ठप्प पारेका छन् ।

अध्यक्ष चौधरीले मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश गरेको र सबै कर्मचारीहरुलाई गालीगलौज, अपशब्द, थर्काउने जस्ता अनुचित कार्य गरेको सूचनामा उल्लेख छ । ‘आफुले धारण गरेका सार्वजनिक पद एवम् पर्यादा विपरितका कार्यहरु गरेकोले गाउँपालिका र माहतहतका सम्पूर्ण कार्यालयहरुबाट प्रवाह हुने आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै कामकाज अर्को सूचना नहुनजेलसम्मका लागि स्थगन गरिएको’, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद पराजुलीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीले मधेशलाइभसँग भने विरोध स्वरुप एक दिन कामकाज नगर्ने सम्पूर्ण कर्मचारीहरुको सहमति अनुसार निर्णय भएको बताए । ‘हिजो बेलुका साढे ४ बजेतिर म फिल्डमा थिए, सो बेला अध्यक्ष ज्यू मादक पदार्थ सेवन गरेर कार्यालय आएको र सबैलाई अपशब्द भन्नुभएको सुन्नमा आयो’ उनले भने, ‘त्यसपछि मैले एक पटक उहाँलाई फोन गर्दा पनि उठाउनुभएन, अहिले कार्यपालिका सदस्यहरुसँग छलफल गर्ने तयारी भइरहेको छ ।’

उता, गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कर्मचारीहरुले बहाना झिकेर बदनाम गर्न खोजेको दावी गरे । ‘ए बाबा, म त गेटैबाट फर्केको छु । कार्यालयभित्र छिरेको पनि छैन्’ उनले भने, ‘विश्वास नलागे सीसी क्यामेरा त हेर्न पाउँनुहुन्छ नि, यो सब बहानाबाजी हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस