धनुषामा रातिको समयमा डिजे बजाउन रोक

जनकपुरधाम – धनुषामा ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे बजाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै कसैबाट उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम तत्कालै कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सूचनामा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा विवाह, व्रतबन्ध, धार्मिक कार्यलगायत कार्यक्रमको आयोजना गर्दा ठुलो स्वरमा डिजे, माइक तथा ध्वनि यन्त्र बजाउँदा सर्वसाधारणको जनजीवन र स्वास्थ्यमा प्रतिकुल असर पर्न गएकोले अनावश्यक रूपमा राति १० बजेपछि डिजे, माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न रोक लगाएको उल्लेख छ ।

यस्तै जारी सूचनामा ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न डिजे, माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री सञ्चालन रोक लगाउनुका साथै अश्लील गीत नबजाउन समेत अनुरोध गरिएको छ ।

जारी सूचनामा यस्तो भनिएको छ,‘जिल्लाको सहरी क्षेत्र एवं ग्रामीण क्षेत्रमा विवाह, व्रतबन्ध, धार्मिक कार्य लगायतको अन्य समारोह/कार्यक्रमको आयोजना गर्दा ठुलो स्वरमा ध्वनि यन्त्र बजाउँदा ध्वनि प्रदूषण भई सर्वसाधारणको जनजीविका र स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न गएकोले ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न ध्वनि सम्बन्धी यन्त्रहरू (डीजे, माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री) सञ्चालन नगर्न र सञ्चालन अवधिमा पनि अश्लील गीत नबजाउन सर्वसाधारणसँग अनुरोध गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस