सप्तरीले उपेन्द्रको योगदान बिर्से, बारावासीले स–सम्मान बोलाए

विद्यानन्द राम

विद्यानन्द राम

सप्तरीलाई वौद्धिक र राजनीतिक चेतना भएको जिल्लाको रुपमा चिनिन्छ । तर अहिलेसम्मको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने देशमै पहिलो पटक गणतन्त्रको आवाज उठाउने क्रान्तिकारी नेता स्व. रामराजा प्रसाद सिंह, सङ्गठित रुपमा मधेशको आवाज बुलन्द पार्ने स्व. गजेन्द्रनारायण सिंह, किसान आन्दोलनका नेता स्व. कृष्णराज वर्मा, तत्कालिन शान्तिपूर्ण राजनीतिमा रहँदा जयकृष्ण गोईत जस्ता धर्तीपुत्रहरुलाई चुनावी मैदानमा चिन्न भूल गरेकै हो । पछिल्लो पटक मधेशी जनताको आन, बान र शानको रुपमा स्थापित मधेश विद्रोहका कमाण्डर उपेन्द्र यादवलाई समेत चिन्न भूल मात्र होइन, ठूलै गल्ती गरेको छ सप्तरीवासीले । जुन गल्तीको मूल्य सप्तरीवासीले चुकाउनै पर्छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरु सुनिश्चित गराउन उपेन्द्र यादवले अहम् भूमिका निर्वाह गरेका छन् । छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । मधेशी जनता अर्थात कालो अनुहारलाई भैया, मर्सिया, मदिसे ईत्यादी उपनामले अपमानित हुनु परेको थियो । तर आज २२ जिल्लाको पूर्ण मधेश नभए पनि ८ जिल्लाको मधेश स्थापित भएको छ । पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको छ । यो उपलब्धीलाई मधेश आन्दोलनको सफलताको एक कडीको रुपमा लिईनुपर्दछ । यहाँका जनता गर्वले मधेश प्रदेशका वासिन्दा भन्न पाएका छन् । मधेशका बाँकी जिल्लाहरुमा समेत उपेन्द्रले पहिचानवादी पक्षधरहरुलाई जोड्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

 

जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सिमान्तकृत समुदाय, जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्षको रुपमा निरन्तर सङ्घर्षको मैदानमा छन् उनी । विद्यार्थी जीवनकालदेखि नै कठोर सङ्घर्ष गर्दै उनी आफ्नो जीवनमा सिद्धान्त र विचारबाट रत्तिभर विचलित भएका छैनन् ।

उनको जन्म, शिक्षादीक्षा समेत सप्तरीमै भएकोले मातृभूमीको साइनो त छ नै सप्तरीको माटोसँग । मधेश आन्दोलनको प्रमुख केन्द्र सप्तरी नै भएकोले बढी समय दिनु स्वाभाविक नै थियो । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाटै चुनाव लड्न आग्रह भएपछि उम्मेदवारी दिएर जब मैदानमा होमिए, तब धेरैको निद्रा हरायो । अत्यधिक मतले चुनाव जिते पनि । चुनावका बेला उनले जनतासँग कुनै बाचा प्रतिवद्धता गरेनन् ।

विकासको ढोका खोले

विषम् परिस्थितिका बावजुद पनि सप्तरीको कायापलट हुने गरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दर्जनौं योजनाहरु अगाडि बढाए । पचास बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४ सय २० बेडको अत्याधुनिक भौतिक पूर्वाधार सम्पन्न अस्पताल बनाउनु, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण लगायतका कार्यहरु उनले गरे । यस्तै राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि स्थापना गर्न सफल भए । प्रतिष्ठानको डिपीआर समेत सम्पन्न भईसकेको छ ।

यसैगरी राजविराज चत्रपथ सडक सहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाएका छन् । भारतको नेशनल हाइवेसँग जोड्न न्यौर–छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माण गर्नमा विशेष पहलमा अगाडि बढाएका थिए । सप्तरीको समग्र विकासका लागि भिजन र मिशनका साथ शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई र रोजगारी श्रृजना गर्न उपेन्द्र यादव अगाडि बढ्दै थिए । निरन्तरको कोभिड १९ को जोखिम लगायतका समस्याहरुका बीच पनि उनले गरेको जति काम अहिलेसम्म सप्तरीको इतिहासमा कुनै मन्त्री वा सांसदले गरेको थिएनन् ।

चौतर्फी घेराबन्दीमा परे

गत मङ्सीर ४ गतेको निर्वाचनमा चुनाव लड्न मधेश प्रदेशका लगभग सबै जिल्लाहरुबाट आग्रह भएको थियो । तर उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको आग्रहलाई नाइँ भन्न सकेनन् । जब उनी उम्मेदवारी दिएर चुनावी मैदानमा होमिए तब शुरु भयो षड्यन्त्र । अति शालिन, भद्र एवम् वौद्धिक नेता उपेन्द्र यादवको विरुद्धमा चौतर्फी घेराबन्दी शुरु भयो । स्वाभिमानी नेतालाई हराउन देशी विदेशी शक्ति त लागेको थियो नै । जातीय तथा धार्मिक लगायतका हतकण्डाहरु अपनाउने कार्य भइरह्यो । यहाँसम्म कि कतिपय आफ्नै सहकर्मीहरुले विश्वासघात गर्नसम्म पछि परेनन् ।

नखाएको विष लागे झैं नियोजित रुपमै निष्कलङ्क वेदाग नेताविरुद्ध हदैसम्मका थरिथरिका नियोजित अफवाहहरु फैलाउने काम भईरह्यो । यहाँसम्म कि आफुलाई वुद्धिजिवी भनाउने तथा जातीय अगुवाहरु त खुलेरै ‘उपेन्द्र यादव हराउ’ अभियान चलाएर एकतावद्ध समाजमा विष वमन गर्न सक्रिय थिए । तर रतिभर विचलित भएन उनी । कुर्ता–पाइजामा, काँधमा गम्छा अनि हातमा पानी भरिएको थर्मस बोकेर जनताको घरदैलोमा पुगिरहे ।

पटक पटकको जेलनेल, बुट र लट्ठीको कुटाई तथा थरिथरिका दुःखको अनुभूति भोगिसकेका उनी अन्ततः चौतर्फी घेराबन्दी र षड्यन्त्रका बीच पराजय व्योहोर्न बाध्य भए । नेल्सन मण्डेला झैं जीवनमा हार नमानी उनले सङ्घर्ष–यात्रा अगाडि बढाईरहे । जीत–हारले उनको राजनीतिक यात्रामा खासै महत्व नरहे पनि यतिबेला सप्तरीको चौतर्फी विकास र समृद्धिको यात्रामा विराम नै लागेको भन्नुपर्दा दुईमत नहोला । हो पनि, आज सप्तरी २ बाट उनी पुनः निर्वाचित भएको भए विकासीय कार्यहरुले थप गति लिने थियो भने नयाँ कामहरुको श्रीगणेश हुने थियो ।

दुर्भाग्य नै भन्नुपर्दछ जुन नेताले मधेश र मधेशीको पहिचान र अधिकार स्थापित गराए तीनै नेतालाई पराजित गरियो । उनको पराजयले सङ्घीयता र पहिचानवादी पक्षधर शक्तिहरुलाई कमजोर पार्ने दुष्प्रयास भएकै हो । यतिमात्र होइन, कथित वैज्ञानिक डा. सीके राउतको नाममा हौवा फैलाएर मसिहा बनाउने काम भयो । जबकी मधेश आन्दोलन होस् वा अन्य कुनै पहिचानवादी आन्दोलन सीके राउतको कतै पनि भूमिका छैन ।
उनी स्वतन्त्र मधेश अर्थात अलग मधेश देश बनाउने मुद्दा लिएर अगाडि बढेका थिए । प्रहरी हिरासतमा बस्नुपर्ने डरले नेपालको राजनीतिक इतिहासकै सर्वाधिक डरपोक नेता सीके राउतले रातारात नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीको चरणमा आफ्ना सम्पूर्ण मुद्दा समर्पण गरे । उनले प्रहरी दमनका पुराना भिडियोहरु प्रोजेक्टरमा देखाएर दलित एवम् विपन्न वस्तीका सोझासाझा जनतासँग ‘ईमोशनल ब्ल्याकमेलिङ्ग’ गरे । अहिले पनि बाराबासी बीच भ्रामक प्रचारबाजी गरेर ठग्ने प्रयासमा छन् उनी र उनका कार्यकर्ताहरु ।

मुद्दा विहिन सीके राउत

मधेशको विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीमा कुनै मुद्दा र भिजन नरहेको कुरा त पटक पटक देशकै चर्चित विष्लेशक सीकेलालले सार्वजनिक मञ्चहरुमै भन्ने गरेका छन् । उनी सङ्घीयताको विषयमा पनि प्रष्ट छैन । उनी देशी विदेशी शक्तिको गोटी मात्र हुन् । यसको पुष्टि उनकै गतिविधिहरुले समेत गरिसकेको छ । उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु देशभित्रै अधिकारसम्पन्न मधेशका लागि आन्दोलन गरिरहँदा उनी मधेश देशको कुरा गरिरहेका थिए । मधेशवादी शक्तिहरु एकतावद्ध भएर चुनावमा होमिएका बेला कोठली बाहिर मतदानको कुरा गर्दै मधेशी नेता र मधेशी शक्तिहरुलाई कमजोर पार्न सारा शक्ति परिचालन गरेका थिए ।

मधेश विरोधी सीके

मधेशका मसिहा उपेन्द्र यादव हारे पछि त सीके राउतले उनीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनी मूल शत्रु उपेन्द्रलाई मानेर मधेश विरोधी क्रियाकलापमा लागेका छन् । सीकेको लडाई त राज्यसत्तासँग हुनुपर्ने थियो । तर उनी र उनको पार्टीको लडाई उपेन्द्र यादवसँगै हो भन्ने कुरा पुष्टि भईरहेको छ । यस्तो तुच्छ सोचले आफूआफूमा लडेर मधेश र मधेशीलाई कमजोर पार्ने बाहेक अरु केही हुन सक्दैन । सीके र उनका कार्यकर्ताहरुको शैलीले नै पुष्टि गरिरहेको छ कि उनी देशी विदेशी प्रभुहरुको ईशारामा चलेका छन् । उनी र उनको पार्टीसँग कुनै भिजन छैन ।

चुनाव जितेपछि उनले आफ्नो ध्यान मूल रुपमा निर्वाचित भएको जिल्ला सप्तरीको विकास र समृद्धिका लागि केन्द्रित गरी कामहरु अगाडि बढाउनुपर्ने थियो तर त्यसतर्फ उनको कुनै चासो छैन । उपेन्द्र यादवले अगाडि बढाएका कार्यहरु मात्रै सीके राउतले निगरानी एवम् परिचालन गरिदिएको भए धेरै कामहरु अगाडि बढिसकेको हुन्थ्यो । तर उनको ईगो हठले गर्दा ती कामहरु ठप्प हुन पुगेको छ । के सप्तरीवासीले उपेन्द्र यादवकै विरुद्ध प्रोपोगण्डा फैलाउन तथा मधेश र मधेशीलाई कमजोर पार्नकै लागि चुनाव जिताएर पठाएका हुन् त ? जवाफ माग्ने जिम्मा सप्तरीवासीको ।

विकासको लहर ल्याए उपेन्द्रले

आज पचास बेडको गजेन्द्रनारायण सिंह अस्पतालमा ४ सय २० बेडको अत्याधुनिक भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ तर अहिलेसम्म बेडको अनुपातमा थप दरबन्दी स्वीकृत, सेवा सुविधा विस्तार लगायतका कार्यहरु अगाडि बढ्न सकेको छैन । अवस्था झन खस्किदै गएको छ । डिपीआर पछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम पनि ठप्प जस्तै छ । निर्माण कार्य सम्पन्न भई नर्सिङ्ग कलेजमा पढाई शुरु हुने तयारी हुँदै थियो । त्यो पनि जस्ताको त्यस्तै छ । इन्जिनियरिङ्ग कलेज निर्माण कार्य अन्तिम चरणमा थियो । त्यसको पनि कामले पूर्णता पाउन सकेको छैन ।

चुनावताका नै उनकै विशेष पहलमा कृषि विश्वविद्यालयमा बीएससी एजी अध्ययनका लागि भर्ना खुल्ला गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई भनेर राजविराज–छिन्नमस्ता, राजविराज–भारदह, राजविराज–रुपनी लगायतका आधा दर्जन भन्दा बढी सडकहरुको निर्माण सम्बन्धी योजनामा बजेट राख्न लगाएका थिए । ती सडकहरुको टेण्डर भईसकेर दुई लेनदेखि चार लेनको पक्की सडक (कालोपत्रे) हुन लागेको छ । बाँकी योजनाहरुमा भने पूर्ण विराम नै लागेको छ । यतिबेला सप्तरीवासीलाई उपेन्द्र यादवको अभाव खट्किरहेको छ र आगामी दिनमा समेत खट्कि नै रहने छ । त्यतिबेला नियोजित रुपमा फैलाईएको प्रोपोगन्डामा विश्वास गरेका सप्तरी २ का मतदाताहरुलाई अब पश्चाताप गर्नु बाहेको विकल्प छैन । यहाँ हिन्दीको मुहावरा उपयुक्त होला ‘अब पछताए होत क्या जब चिडिया चुग गई खेत…..।

बारामा मधेशका मण्डेला उपेन्द्र

जसरी नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रङ्गभेदी, जातीभेदी नेतृत्व विरुद्ध अनवरत लडेका थिए । त्यसरी नै छालाको रङ्ग, बोली, भाषा र पहिरनको आधारमा गरिँदै आएको विभेद र असमानता विरुद्ध सङ्घर्ष गर्दैआएका नेता उपेन्द्र यादव बारा २ बाट चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । प्रतिनिधिसभामा सङ्घीयता र धर्मनिरपेक्षता विरोधीहरु सलबलाउन थालेकोले मधेशी जनताको बलिदानीबाट स्थापित सङ्घीयता तथा मधेशी जनताको स्वाभिमान रक्षाका लागि बाराका आमजनताले आग्रह गरेर ससम्मान चुनावी मैदानमा उनलाई ल्याएका छन् ।

विदेशी शक्तिको गोटी बनेका मधेश विरोधीहरु आमजनतामा उपेन्द्र यादवको योगदानबारे भ्रम फैलाईरहँदा बाराका जनताले हज्जारौं जनमानसका बीच बाजागाजाका साथ स्वागत गरेका छन् । मधेशको पहिचान स्थापित गराउने आफ्ना नेतालाई हर्षोल्लासका साथ चुनावी प्रतिष्पर्धामा उम्मेदवारी दिन लगाएका छन् । उपेन्द्र यादव मधेश र मधेशीको आन, बान र शान भएकोले मधेशको आवाजलाई बुलन्द पार्न मधेश नायकलाई दुई तिहाई भन्दा बढी मत अन्तरले जिताएर प्रतिनिधिसभामा पठाउने सङ्कल्प लिएका छन् । मधेशको भावी सन्ततिको भविष्य र बाराको समग्र विकास सुनिश्चित गर्न उपेन्द्र यादव बाहेक अर्को विकल्प छैन । उनी कुरा हैन, काममा विश्वास गर्छन् ।

सप्तरी २ का जनताले विभिन्न षड्यन्त्रमा परि मधेशका गौरव उपेन्द्र यादवलाई पराजित गराएर आफ्नै खुट्टामा आफै बञ्चरो हानेका छन् । सप्तरीले अनमोल रत्नलाई चिन्न ठूलो भूल गरे भने बाराबासीले स–सम्मान स्वागत गरे । जसरी राम वनवासबाट फर्केर आउँदा अयोध्यावासीले स्वागत गरेका थिए त्यसरी नै बारावासीले स्वागत गरेर मिशाल कायम गरेका छन् । सप्तरीको मुहार फेर्न मिशन र भिजनका साथ काम गर्दैआएका जसपा अध्यक्ष उपेन्द्र यादवको अबको गन्तब्य स्वाभाविक रुपमा बारा बनेको छ ।
बारा २ का महान जनताले सिङ्गो पहिचानवादी आन्दोलनमा उचाइ थपेका छन् । यद्यपी चुनौती त अब थपिएको छ । बाराबासीलाई भ्रमित पार्न सामाजिक सञ्जालका साथै भ्रम छर्न सक्रिय हुँदैछ सीके र उनका समर्थकहरु । सामाजिक सद्भाव एवम् एकतामा विष घोल्नेहरुलाई बाराबासीले मुहतोड जवाफ दिनु जरुरी छ । जसपा अध्यक्ष उपेन्द्र यादव व्यापक मतान्तरले विजयी भई बारा २ बाट जनप्रतिनिधिको रुपमा निर्वाचित भई प्रतिनिधिसभामा पुनः मधेशी, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक, पिछडावर्ग लगायत पछाडि पारिएका जाति एवम् समुदायको आवाज बुलन्द गरोस् भनी हाम्रो तर्फबाट शुभकामना ।

Author:



क्याटोगरी छान्‍नुहोस