छिन्नमस्ता भगवती मन्दिरको खिँचतान सल्टाउने सरल उपाय

सन्तोष कुमार चौधरी

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर देशकै प्रसिद्ध शक्तिपीठ हो, जो सीमावर्ती छिन्नमस्ता गाउँपालिकाको सखडा गाउँमा पर्दछ। छिन्नमस्ता भगवती भक्तजनको मनोकामना पूरा गर्ने शक्तिपीठको रूपमा प्रसिद्घ छ। यस शक्तिपीठप्रति नेपाल र भारतका जनमानसको ठूलो आस्था रहेको छ। बर्सेनि लाखौं भक्तजनहरूले छिन्नमस्ता भगवतीको दर्शन गर्दछन्। शारदीय र वासन्त नवरात्रमा यहाँको भव्यता अनिर्वचनीय हुन्छ।

नेपाल अधिराज्यका पूर्व नरेशहरूका साथै गणतन्त्र नेपालका प्रत्येक राष्ट्राध्यक्षले छिन्नमस्ता भगवतीको दर्शन एवं प्रार्थना कार्यलाई विशेष महत्व दिँदै आएको यस शक्ति किपीठ क्षेत्रको विगत तीन दशक यता कायाकल्प भइसकेको छ। शक्तिपीठको भौतिक संरचनाको विकास र व्यवस्थापन तथा सौन्दर्यीकरणको लागि यहाँ भगवतीको पाउमा अझै पनि ठूलो धनराशि समर्पित हुन साष्टाङ्ग दण्डवत छ।

शक्तिपीठका धरोहरहरू निकै ठूलो क्षेत्रमा फैलिएको छ। ठूलै संख्यामा पुजारी र कर्मचारी खटिएका छन्। दैनिक हजारौं भक्तजनले दर्शन गर्दछन् भने दैनिक सयौं पशुपन्छीको बलि प्रदान हुन्छ। यी विवरणहरू शक्तिपीठको व्यवस्थापकीय जिम्मेवारीको बोध गराउन पर्याप्त छन्।

छिन्नमस्ता मन्दिरको इतिहास १३औं शताब्दीसँग जोडिएको छ। तिरहुत नरेश शक्र सिंहले राजगद्दी छोरा हरि सिहंलाई सुम्पेर देवी भगवतीको उपासनामा लागे। उनै शक्र सिंहले महिषमर्दिनी देवीको प्रतिमा स्थापना गरी मन्दिर बनाएका थिए। तदनंतर कालक्रममा देवी धरतीमा विलिन भएर १९औं शताब्दीमा पुनः प्रकट भइन्। पुनर्प्रकटित देवी सिरविहिन पाइएकोले छिन्नमस्ता नामले सम्बोधित भइन्।

सखडाका विर्तवाल परिवारकी च्याखुरी नानी र चुनीलालले भीक्षाटन गरी निर्माण गरेको मन्दिर वि.सं. १९९० को भूकम्पमा भत्किएपछि पूजारी अनिरुद्ध ठाकुरले सहयोग संकलन गरी सम्भार गरे। वि.सं. २०२८ मा भारतीय रेलमन्त्री ललितनारायण मिश्रले मन्दिर र धर्मशाला बनाए। वि.सं. २०४४ मा राजा वीरेन्द्रले पाँच लाख रुपैयाँ चढाए, जसबाट मन्दिरको पुनर्निर्माण भयो।

राष्ट्रको ढुकुटीबाट पुनर्निर्माण गरिएयता मन्दिरको विकास र सौन्दर्यीकरणमा मात्र गति आएन, बल्की महिषमर्दिनी सखडेश्वरी मन्दिर एक शक्तिपीठमा समेत रूपान्तरित भएको छ।२१ शक्तिपीठ अर्थात् आदि परा–अपरा शक्तिको गर्भ वा केन्द्र। जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री द्वारा हस्ताक्षरित प्रशस्तीपत्रद्वारा सखडा शक्तिपीठ र मुख्य पुजारी महाकान्त ठाकुर पीठाधीश घोषित भए।

देवीमन्दिर र शक्तिपीठबीच खास अन्तर छ। मन्दिरमा प्राणप्रतिष्ठित देवीको दर्शन, अर्चना एवं प्रार्थना गरिन्छ भने शक्तिपीठमा वाममार्गी अर्थात् तान्त्रोक्त बिधिबाट आद्यात्मिक शक्तिको साधना गरिन्छ। खासगरी सन्यस्त व्यक्तिहरू अज्ञात रहेर ऐच्छिक शक्तिको आवाहन, साधन र संवरण गर्दछन्। यस रहस्यभित्र ‘शिवसती रहस्य’ नामक पौराणिक आख्यान, जसमा दस महाविद्याको ज्ञान समाहित छ।

यस पीठ–परिसरमा दस महाविद्यामध्ये कालीको मन्दिर निर्माण भइसकेको छ भने नौ महाविद्याको छुट्टाछुट्टै मन्दिर निर्माणाधीन अवस्थामा हुनु एक अलौकिक विशिष्टता हो। यहाँ पहिलेदेखिनै साधकहरू साधना सम्पन्न गर्दै आएको मानिन्छ। यहाँ संस्कारकर्म, अनुष्ठान, सवारी पूजाहरू पनि गराइन्छ। यी कुराहरूले यस पीठको महत्त्वलाई दर्शाउँछ। सखडेश्वरी शक्तिपीठप्रतिको आकर्षण पछिल्लो समयमा तीव्र रूपमा बढेको छ।

सखडाको आभा र तेज जुन गतिले फैलिरहेको छ, त्यसले के देखाउँछ भने सखडा निकट भविष्यको महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ जीवनमा एक पटक भए पनि पुग्ने उत्कण्ठा हरेक सनातनीमा हुनेछ। र सखडा स्वयंमा पनि संसारका भक्तजनलाई आफ्नै काँखमा समाहित गर्न समर्थ छ। तर एक विशाल तीर्थस्थलको कामनाका लागि मात्र होइन अपितु वर्तमान समयले बढाएको जिम्मेवारीलाई वहन गर्न र जवाफदेहिता सुनिश्चित गर्न आवश्यक छ।

सखडा शक्तिपीठ एक विशाल संस्था भइसकेको छ। संस्थाको अर्थ सेवा कार्यालय होइन, व्यवस्थापकीय स्थिरता हो। व्यवस्थाले यो कुरा सुनिश्चित गर्दछ कि संस्थाका सम्पूर्ण अंगहरू समन्वित रूपमा गतिशील र फलदायी छन्। सखडा शक्तिपीठको भव्यता र दिव्यता आकाश छोइरहेका छन् भने संस्थागत उन्नति वर्षौंदेखि ढलमलाउँदै आएको छ।

सखडा पीठको व्यवस्थापन पीठाधीश महाकान्त ठाकुरले हेर्दै आएका छन् र उनले आफ्नो सुविधाका लागि संस्था दर्ता ऐन, २०३४ अन्तर्गत एक संस्था दर्ता गराई राखेका छन्, जसमा सखडा र आसपासका मानिसलाई राख्ने गरिएको छ। उक्त संस्थामा कुनै न कुनै विषयलाई लिएर विवाद हुँदै आएको छ। तर हालै संस्थाका दुई पदाधिकारीद्वारा अन्तरविरोधी विज्ञप्ति जारी गरिएका छन्, जसले उक्त पीठभित्रको द्वन्द्वात्मक अवस्थालाई एक पटक फेरि शीर्षमा पुर्याएको छ।सखडा शक्तिपीठ घोषणा भएको वर्षौं बित्दा पनि त्यसलाई वैधानिक रूपमा संस्थागत गरिएको छैन। श्री छिन्नमस्ता भगवती संरक्षण संवर्द्धन समिति नामले दर्ता गरिएको संस्थाको नाम र छापलाई प्रयोग गर्दै आइएको छ।

श्री छिन्नमस्ता भगवती संरक्षण संवर्द्धन समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरको हस्ताक्षरबाट साउन ३० गते प्रकाशित विज्ञप्तिमा “जिल्ला सुरक्षा परिषद्को बैठकमा मन्दिर व्यवस्थापन र जल्दोबल्दो समसामयिक विषयहरुमा भएको सहमति अनुसार अर्को व्यवस्था नभएसम्म समितिका अध्यक्ष र उपाध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यहरूलाई पदबाट हटाइएको“ उल्लेख छ। यसैगरी पदबाट हटाइएका सचिव बाबु नारायण मण्डलको नामबाट प्रकाशित एक विज्ञप्तिमा पदबाट हटाउने कार्य कानून संगत नभएको भन्दै समितिका अध्यक्ष र उपाध्यक्षमाथि दोषारोपण समेत गरिएको छ।

यसरी एक विज्ञप्तिमा सहमतिमा पदबाट हटाइएको भनिनु र अर्को विज्ञप्तिमा सो कार्य कानून संगत नभएको भनिनुले अप्रकाशित कुराहरू सम्भ्रम प्रतीत हुन्छ। मन्दिर वा पीठका पदाधिकारीहरूबाट विवादका यथार्थ कारण नउघारी सामाजिक सञ्जालमा परस्परमा हुने आक्षेपणले सबैलाई भ्रमित तुल्याएको मात्र होइन करौडौं भक्तजनको भावनामाथि चोट पनि पुर्याएको छ।

सखडा परिसरभित्रका यस्ता अन्योलपूर्ण कुरामाथि तर्कना गर्दा सोझा–बाङ्गा सबै खाले कुराहरू आउलान्। बाङ्गा कुराहरूमा आखिर लोभ, मोह, पापकै कुराहरू आउने हुन्। तर सोझा साझा कुरा नै हुन् भने जसरी विज्ञप्तिमा’नयाँ विधान दर्ता गर्नुपर्ने तर पालिकाको सिफारिसमा अवरोध’ भन्ने उल्लेख भएर आएको छ, त्यसबाट मामिला गम्भीर तर निर्द्वन्द्व प्रकृतिको देखिन्छ। यदि विधानको अस्पष्टता, अनुपयुक्तता वा अपर्याप्तता नै समस्या हो भने सखडा मन्दिर÷पीठको लागि यो समस्या अवश्यम्भावी भन्नु पर्दछ।

सखडा मन्दिर वा शक्तिपीठ स्वयंमा एक संस्था हो। प्रचलित कानूनमा संस्थाको रूपमा अभिलेखित हुनु, प्यान लिनु आदि यसको बाहिरी आवश्यकता पूर्तिको लागि आवश्यक हुन्छ तर यसको आन्तरिक व्यवस्था शास्त्रानुकुल स्वतः हुनुपर्दछ। संस्थाले अंगीकार गर्ने जुनसुकै विधान, प्रबन्धपत्र, संस्थापनापत्र आदि उक्त सिद्धान्तलाई आत्मसाथ गरेको हुनुपर्दछ।

हाल संस्था दर्ता ऐन, २०३४ तहत दर्ता गरिएको विधान बहालमा रहेको छ। उक्त विधान मन्दिरको बाह्य र आन्तरिक व्यवस्थापनको विशिष्टतालाई सम्बोधन गर्न समर्थ छैन। त्यसैले यस विधानको विकल्प खोज्ने प्रयासमा मन्दिरको लामो समय गुज्रिएको छ। कुनै पनि धर्मस्थल वा तीर्थस्थलको व्यवस्थापन लामोसमय अन्योलपूर्ण रहनु दुर्भाग्यपूर्ण छ। संस्था दर्ता निमित्त सिफारिस नदिनुले स्थानीय पालिका र मन्दिरको विवादलाई सुरक्षा परिषदको बैठक बनाइनुले प्रशासन, प्रहरी र सेनाका अधिकारी पनि विवादमा सामेल रहेको देखिन्छ। मन्दिरको विषयमा स्थानीय सरकार सञ्चालन ऐन र संस्था दर्ता ऐनले स्थानीय तह र प्रशासनिक एकाइहरूलाई दिएको नदिएको अधिकारको अवस्था हेरी उनीहरूले मन्दिरको वैधानिक गतिरोध समाप्त गर्ने गरी योगदान गर्नु उचित हुनेछ।

मन्दिरलाई वैधानिक संकटबाट मुक्त गर्न कुन कानून अन्तर्गत दर्ता गर्ने हो भन्ने कुरा वस्तुपरक रूपमा सुनिश्चित गरिनुपर्छ। संस्था दर्ता ऐन अन्तर्गत नै फेरि पनि दर्ता गर्ने हो भने त्यसले आवश्यकतालाई पूरा गर्न सक्दैन। का.वा. अध्यक्षको नामबाट जारी विज्ञप्तिमा बहालवाला समितिको अध्यक्ष उल्लेख गर्दा कोष्ठकमा गुठियार लेखिएको देखिँदा यो मन्दिर दर्ताबिनाको गुठी हो भने यसको संस्थापनापत्र मुलुकी देवानी संहिता, २०७४ को भाग ४ परिच्छेद ६ अन्तर्गत सार्वजनिक गुठीको रूपमा दर्ता गरिनुको विकल्प कानूनले दिएको छैन।

सखडा मन्दिर÷पीठले मात्र २ वटा काम गरेर वैधानिक समस्याको समाधान सहज रूपमा गर्न सक्दछ। पहिलो काम बहालवाला समितिले सखडा शक्तिपीठ गुठीको संस्थापनापत्र तयार गरी देवानी संहिता अन्तर्गत दर्ता गराउने र दोस्रो काम बहाल रहेकै श्री छिन्नमस्ता भगवती मन्दिर संरक्षण संवर्द्धन समितिको विधानमा आवश्यक संशोधन गरी मन्दिरको बाह्य व्यवस्थापन सुनिश्चित गर्ने। यस किसिमले वैधानिक व्यवस्था मिलाउँदा नयाँ संस्था खडा गरी रहन नपर्ने र गुठी एवं समिति बीच कार्य तथा जिम्मेवारीको पृथक्कीकरण भई विवादको कारण पनि सदाको लागि समाप्त भएर जानेछ। अर्थात् गुठीको काम (पूजा, अनुष्ठान, सम्पत्ति) गुठीको सञ्चालकले र संरक्षण (सुरक्षा) संवर्द्धन (विकास) समितिको काम वर्तमान संस्थाको समितिले गर्ने गरी भावी व्यवस्था नै सर्वकालिक समाधान हो।

दर्तावाला वा दर्ता बिनाको गुठी हो भने त्यसलाई गुठी पञ्जिकाधिकारीमा दर्ता गराउनुपर्छ (दफा ३५०)। तर सखडा मन्दिरको इतिहासमा कसैले कुनै गुठी कायम गरेको कुरा उल्लेख भएको पाइँदैन। मन्दिरको जग्गाको कुनै साविक दस्तावेजमा कतै विर्तवार भनी उल्लेख छ भन्ने आधारमा मात्र कसैले गुठियार हुँ भन्न पाउने होइन। मुलुकी ऐनदेखि मुलुकी देवानी संहितासम्म गुठी, गुठियार र गुठी सञ्चालकको विषयमा भएको व्यवस्था बमोजिम नै हुन्छ।

कसैले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति हितग्राहीको लागि अरूबाट सञ्चालन र व्यवस्थापन गर्ने गरी आवश्यक बन्दोबस्त गरेकोमा गुठी स्थापना भएको मानिने वर्तमान कानूनी व्यवस्थाले गुठियारको वैधताबारे उठेका हरेक कुरामा के कसरी गर्नुपर्ने हो, त्यो आफैंमा स्पष्ट गरी दिएको छ। गुठी दर्ता गराउने बहालवाला संस्था र यस अघि वा आज सम्पत्ति दिने व्यक्तिहरू पीठका गुठियार हुनेछन् र गुठियारहरूले तोकेका कानून बमोजिम योग्य व्यक्तिहरू तोकिएको कार्यकालकाो लागि तोकिएको काम गर्ने गरी सञ्चालक नियुक्त हुने कानूनी व्यवस्था छ। सञ्चालकहरूबीच विमति वा विवादको गुञ्जायस हुँदैन किनभने सर्वसम्मतिले निर्णय गर्न कानूनले अनिवार्य गरेको छ।

त्यसैगरी यता श्री छिन्नमस्ता भगवती संरक्षण संवर्द्धन समितितर्फ जनसहभागिता बढाउन साधारण सदस्यतामा स्थानीय समुदायको पहुँच सरल बनाई दिनुपर्छ। समिति र गुठीले आ–आफ्नो कानून र विधान वा संस्थापना पत्र बमोजिम कार्य गर्नेछन्। मन्दिरको संरक्षण संवर्द्धनको कार्य समितिले सफलतापूर्वक गर्दै आएको छ। मन्दिरको भौतिक पूर्वाधारको विकाससँगै शक्तिपीठको शास्त्रानुकुल संस्थापनको कार्य पनि बहालवाला संस्थाको लागि महत्वपूर्ण जिम्मेवारीको रूपमा रहेको छ। दस महाविद्या मन्दिरको निर्माणाधीन कार्य पूर्ण भएपछि सखडा दैदिप्यमान हुनेछ तर समयले दिएको उक्त अभिभाराप्रति गम्भीर हुनु आवश्यक छ।

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133