सदनमा नपुगे पनि जनताको पक्षमा आवाज उठिरहने : डा. बबी सिंह यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएकी छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै यादवले यसपटकको नतिजा अपेक्षाअनुसार नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताइन्।

उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको अधिकार, सम्मान र विकासका लागि आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नहुने स्पष्ट पारिन्। आगामी दिनहरूमा पनि जनताको हक–अधिकार, पहिचान, समावेशी प्रतिनिधित्व तथा क्षेत्रको समग्र विकासका लागि सदन बाहिरबाट समेत निरन्तर आवाज उठाइरहने उनको भनाइ छ।

यादवले निर्वाचनमा विजयी उम्मेदवारलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। जनताको विश्वासअनुसार विजयी उम्मेदवारले क्षेत्रको विकास, सुशासन र जनहितका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा समेत उनले व्यक्त गरिन्।

यसैबीच, चुनावमा छाता चिन्हमा मतदान गरी आफूप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता, साथै चुनावी अभियानका क्रममा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्।

यादवले सदनमा पुग्न नसके पनि सडकदेखि जनताको दैलोसम्म जनताको हक, अधिकार र विकासका पक्षमा आफ्नो आवाज निरन्तर उठिरहने बताउँदै जनताको सेवा र क्षेत्रको विकासप्रति आफ्नो प्रतिबद्धता आगामी दिनहरूमा पनि यथावत् रहने उल्लेख गरेकी छन्।

Author:



क्याटोगरी छान्‍नुहोस