विरोध होइन, बहस गरौं जानकी मन्दिरको संरक्षणको

जितेन्द्र महासेठ

जितेन्द्र महासेठ

जन्मेको भुमी सदासर्बदा सदैब पवित्र हुन्छ, त्यो अनमोल हुन्छ, त्यसको कुनै मोल हुदैन हुन सक्दैन । अझ भनाै‌ आफ्नो संस्कार संस्कृति इतिहास जिवन्त राख्नु हामी सबैको पहिलो धर्म हो । सन्दर्भ जोडौ जानकी मन्दिरको । भारत बिहार राज्यको पुनौराधाममा शिलान्यास गरिएको जानकी मन्दिरको । धर्मको नजरले हेर्ने हो भने माता जानकीको मन्दिर स्थापनामा बढोत्तरी हुनु भनेको ब्यापकता हुनु हो, जसले यसको प्रमाणिकतामा अझ टेवा नै पुर्याउँछ ।

ऐतिहासिकताको नजरले हेर्ने हो भने हाम्रो पबित्र भुमिमा र यस भूगोलको पहिलो परिचय जानकी मन्दिर नै हो । जसले यहाँका जनजिवन पर्यटकीय हिसाबले धार्मिक हिसाबले रामायणकालिन इतिहासले यसको महत्वलाई उचाइमा पुरयाउँदै आएको यथार्थ हो ।

अब सवाल आउँछ जानकीको प्राकटयस्थलको । इमानका साथ भन्ने हो भने यो जगतको निर्माण र मुलुकहरुको पहिचान स्थापना हुनुपुर्व यो जनकपुरधामदेखि भर्खरै नयाँ जानकी मन्दिरको शिलान्यास गरिएको पुनौराधामको भुगोलको ती सबै राजा जनकको अधिनस्थ रहेको मिथिला नै थियो । अर्को सवाल उब्जन्छ जगतमा स्थापित माता जानकीको प्राकट्यस्थल जनकपुरधाम हो भने यसमा विभिन्न कोणहरुबाट अध्ययन जरुरी छ ।

पुनौराधामलाई रामायणबाट अलग गर्न सकिँदैन, यद्यपी तीर सबै भुगोल राजा जनकको भएको सीताको विवाह यही भुमिमा भएको र त्यसै क्रममा यहाँ जन्तिहरुको लागि भनेर ५२ कुटी र ७२ कुण्ड रहेको थियो, जसले गर्दा जनकपुरधामलाइ नै मानिएको र मानिदै आएको हो । यसको जिवन्त प्रमाण भारतबाट प्रत्येक बर्ष बिवाहपञ्चमीमा विधिवत रुपमा रामको प्रतीक भई सङ्गै जन्ती आउनु र यहाँका जनमानसले त्यसलाई पहिलो प्राथमिकतामा राखेर मनाउनु ।

टिकमगढकी महारानीले यहाँ आएर सन्तान प्राप्तिको लागि गरेको भाकल पछि सन्तान भएकोले यसै स्थानमा जानकी मन्दिरको स्थापना गरिएकोले ऐतिहसिकतालाई प्रमाणित गर्दछ । खैर, अब हामी कुरा गरौं, हामीले विरासतमा पाएको जनकपुरधामको जानकी मन्दिरको संरक्षणको ।

आज कहाँ गयो ५२ कुटी ? कहा गयो ७२ कुण्ड ? कसले खायो ? कसले हड्प्यो ? इमानका साथ छातीमा हात राखेर हामी सबैले आ–आफ्नो स्वमुल्याङ्कन गरौं त हामीले आफ्नो परिचयलाई जिवन्त राख्न के के गर्यौ ? जसको नामले दुई मुलुकको रोटीबेटीको सम्बन्ध छ, जसको कारणले चुलो बल्छ, जसले गर्दा दुरदराजका देशहरूबाट बिदेशी पाहुनाहरु यहाँ आउँछन्, आन्तरिक धार्मिक पर्यटकहरु आउँछन्, हामीले त्यसको ब्यवस्थापनको निम्ति कुन खालको योगदान गर्यौ ? स्थानीयदेखि केन्द्रसम्मका सरकारले यसको संरक्षण सम्वद्र्धन गर्न कुन योजनाहरु ल्याए ? के कार्यान्वयन भयो ? उदासिन र आत्मकेन्द्रित म मेरो मेरै निम्तिवाला मानसिकताले जानकी मन्दिरको सम्पतीको चरम दोहन भएको होइन ? खासमा यसको दायित्व कसको हो ? नामधारी महन्तहरुले यसको चरम दुरुपयोग गरिरहँदा तै चुप मै चुप भएको होइन र ?

अनियन्त्रित शहरीकरण गरेर जनकपुरधामको परिचयलाइ तिलाञ्जली दिलाउने को हो ? तपाई म यहाँका समाज ? सम्बन्धित अधिकारिहरु ? सन्त महन्त ? स्थानीय सरकार प्रदेश सरकार कि केन्द्र सरकार ? स्मरण रहोस्, धरोहरको संरक्षण नगर्नेलाई धरोहरले संरक्षण गर्दैन, भनिन्छ धर्मो रक्षती रक्षित ।

अझ समय छ, जानकी मन्दिर जति बन्छ बनोस, कोइ बात छैन, ठिकै हो तर यथार्थमा हामीले आफ्नो धर्म निर्वाह गर्न अब ढिलाइ नगरौं । व्यवहारमा सुधार गरौं । भारतीय नम्बर प्लेट हेर्ने बितिकै र्याल चुहाउने, आन्तरिक पर्यटकहरुसँग रुखो प्रस्तुति छोडौं, होटेल लगायत पर्यटनसँग सम्बन्धित सबै निकायहरुद्वारा सर्वसुलभ कसरी हुने त्यसतर्फ केन्द्रित होऔं । जानकी मन्दिरमा हिजोको दिनमा गरिएको अनावश्यक आधुनिकताको नाममा पुरातात्त्विक महत्वको नाश नगरौं, नगर्न दिऔ । pic. source: Wikkipedia
(लेखक महासेठ नेपाल उधोग बाणिज्य महासंघ मधेशका पूर्व अध्यक्ष हुन् ।)

Author:



क्याटोगरी छान्‍नुहोस