बानेश्वर तथा आसपास क्षेत्रमा कर्फ्यु आदेश, सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध देशैभरी जेन–जी समूहको प्रदर्शन

जनकपुरधाम, २३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध देशको राजधानी काठमाण्डौ सहित देशैभरी जेन–जी समूहले सोमबार विरोध प्रदर्शन जारी राखेका छन् ।

काठमाण्डौको बानेश्वरस्थित संसद् भवन, आसपास क्षेत्रका साथै राजधानीको विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेका छन् । प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ प्रवेश गरेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका–१० अन्तर्गत पर्ने बानेश्वर क्षेत्रलाई लक्षित गर्दै सोमबार अपराह्न १२ः३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी आदेश जारी गरेका छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) अनुसार जारी गरिएको आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भिडभाड, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराबन्दी गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिपी कोइराला प्रतिष्ठानसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइस्ल्यान्डस्मार्ट हुँदै रत्नराज्य माध्यामिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंकरदेव परिसर हुँदै शंकरदेव पुलसम्म कफ्यु आदेश जारी गरेका छन् । प्रशासनले तोकिएको क्षेत्रमा आवतजावत र भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैगरी धरान, बिराटनगर, पोखरा, जनकपुरधाम सहित देशका प्रमुख सहरहरुमा सरकार विरुद्ध प्रदर्शन जारी राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस