
नन्दलाल आचार्य
“सडकमा पोखिएको रगत अक्षरभन्दा बलियो सन्देश हुन्छ भन्ने तिमीलाई थाहा छ ?” प्रश्न सोध्दा समेत अक्षान्तको स्वर काँप्यो ।
“तर के अक्षरहरू चुपचाप बस्छन् ?” उसको साथीले उल्टै सोध्यो ।
“बस्दैनन्, त्यसैले त कलम चिच्याउँछ ।”
दुई मित्रको संवाद भइरहँदा सडकभरि लठ्ठिएका शरीर, चिच्याउँदै भागिरहेका साथीहरू, रगतले चिसिएको ढुङ्गा यत्रतत्र देखिन्थे । ती सबै दृश्य आँखा र मुटुभित्रै कोरिएको थियो सबैको हृदयमा । प्रहरीको लाठी र गोलीले रोक्न खोजेको त्यो स्वर अझ प्रचण्ड हुँदै उफ्रिँदै थियो ।
“१९+ सहादतलाई आँकडा नबनाऊ ।” साथीले कानेखुसी गर्यो, “यो त भविष्यको करुण चिहान होइन, क्रान्तिको बीउ हो ।”
“हो, आँसुले मात्रै होइन, विद्रोहले सम्झिनु पर्छ ।” अक्षान्तले दाँत किट्दै भन्यो ।
सडक पार गर्दै गर्दा भीडमा एउटै स्वर गुन्जियो; “रगतले लेखिएको कथा कहिल्यै हराउँदैन !”
क्षणभर सबै चुप भए । त्यो मौनले नै क्रान्तिको नक्सा खिचिरहेको थियो । नेपथ्यबाट आवाज आयो; “तिमी भक्लक्क ढल्दा, हामी जर्याकजुरुक उठ्छौं ।”
०००
२०८२ भदौ २४ गते
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।