पूर्वप्रधानमन्त्री भट्टराईद्वारा ‘जेन-जी’का नवयुवाहरूसँग हार्दिक अपिल

काठमाडौं, २४ । भदौ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ गतेको ऐतिहासिक जनप्रतिरोधमा सहभागि नवयुवाहरूसँग हार्दिक अपिल गर्दै शान्तिपूर्ण आन्दोलनलाई लक्ष्यमा पुर्याउन आग्रह गरेका छन्।

भट्टराईले नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्ने महान शहीदप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले भनेका छन्, “देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति गौरवान्वित छु।”

उनले आन्दोलनलाई बीचमै नछोड्न आग्रह गर्दै शक्तिसन्तुलनको आधारमा सुझबुझपूर्ण निर्णय लिन नेतृत्वलाई सुझाव दिएका छन्। उनले भने, “संघर्षको जुन रूप निर्धारण गरिएको छ, अहिलेको शान्तिपूर्ण रूपमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनु हुँदैन।”

भट्टराईले आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन सतर्क रहनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न र रोक्न पूर्वयोजना आवश्यक हुन्छ।

संविधान सम्बन्धी प्रसङ्गमा उनले भनेका छन्, “भ्रष्टाचार रोक्न, समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता कायम गर्न संविधानमा आवश्यक सुधार हुनुपर्छ। तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधान भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमा छेडछाड गर्नु गल्ती हुन्छ।”

अन्त्यमा उनले सबै नवयुवाहरूलाई उज्ज्वल भविष्य र आन्दोलनको पूर्ण सफलताका लागि शुभकामना दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस