देशलाई स्थायित्व दिन सुशीलाको नेतृत्व आवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौ, २५ भाद्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपालको नेतृत्व गर्न पूर्वन्यायाधीश तथा इमानदार, सक्षम र स्वच्छ व्यक्तित्वका रूपमा चिनिएकी सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक कदम भएको बताएका छन्।

उनले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट पनि पूर्ण समर्थन र शुभकामना प्रकट गरेका हुन्। भट्टराईले संविधानका आधारमा शपथ ग्रहण गरी संविधान र लोकतान्त्रिक विधिअनुरूप सरकार सञ्चालन गर्न आवश्यक भएको उल्लेख गरेका छन्। उनले संविधानविद्हरू र विज्ञहरूको सल्लाह लिएर निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

यसअघि २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गर्ने निर्णयमा संविधानमै “राजनीतिक सहमतिका आधारमा” भनिएको प्रसंग स्मरण गर्दै, यस पटकको परिस्थितिमा त्यस्तो स्थायी समाधान खोज्नु सम्भव नभएको उनले स्पष्ट पारेका छन्। अहिलेको आन्दोलनले सिर्जना गरेको राजनीतिक अस्थिरतामध्ये बाटो निकाल्न संविधानको जगमा टेकेर मात्र अघि बढ्न सकिने उनले उल्लेख गरेका छन्।

भट्टराईले हालको आन्दोलनले नेपाललाई स्थायी समाधानको दिशामा लैजाने विश्वास व्यक्त गर्दै संविधान र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस