मधेश प्रदेशमा कांग्रेसद्वारा मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट दिएको समर्थन फिर्ता लिएको छ। जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको आजको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गर्दै नयाँ सरकार गठनको पहल थाल्ने घोषणा गरेको हो।

संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीको नेतृत्वमा बनेको सरकारप्रति कांग्रेसको समर्थन अब औचित्यहीन भएको स्पष्ट पारे। उनले भने, “जनमत पार्टीले नै समर्थन फिर्ता लिइसकेको अवस्थामा कांग्रेसले कुनै व्यक्तिलाई समर्थन दिइरहनुपर्ने कारण छैन।”

प्रदेश सांसद अन्जना पण्डितका अनुसार बैठकले सरकारबाट समर्थन फिर्ता लिनुका साथै वैकल्पिक सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको छ।

यसअघि भदौ २४ गते मुख्यमन्त्री सतिशकुमार सिंहले जीनजी आन्दोलनको क्रममा राजीनामा दिने घोषणा गरेका थिए। तर पछि निर्णय परिवर्तन गर्दै उनी सदनको सामना गर्ने अडानमा उभिएका छन्। जनमत पार्टीले भने भदौ ३१ गते नै सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाइसकेको छ।

सत्तारूढ गठबन्धनको हिस्सा एमालेले भने सिंहलाई विश्वासको मत दिनेसम्मको समर्थन जनाइसकेको छ। तर अब कांग्रेसको समर्थन फिर्तापछि सिंहको सरकार थप दबाबमा परेको छ।

कांग्रेसको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको संभावना बलियो बन्दै गएको छ। कांग्रेस अब अन्य दलहरूसँग सहकार्य गर्दै वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्ने तयारीमा छ।

Author:



क्याटोगरी छान्‍नुहोस