मधेश प्रदेशमा रातारात सरोज मुख्यमन्त्री नियुक्त, तीन मन्त्री सहित मन्त्रीमण्डल विस्तार

जनकपुरधाम । मधेश प्रदेशमा फेरि राजनीतिक खिंचातानी भइरहँदा रातारात मधेश प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । आफु अस्वस्थ्य भएकोले काठमाडौं जाने भनी मधेश भवन स्थित निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले बर्दिबास स्थित होटल पानसमा कात्तिक २३ गतेको मितिमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै पत्र दिएकी छिन् । उनले त्यही होटलमै राती नै यादवलाई शपथग्रहण गराएकी छिन् ।

तीन साता अघि सात दलको गठबन्धनको समर्थनमा बनेको सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था आएपछि कात्तिक २२ गते राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएपछि गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेको अवस्थामा प्रदेश प्रमुखले प्रत्यक्ष एमाले नेता यादवलाई मुख्यमन्त्री बनाएपछि मधेशको राजनीतिमा नयाँ तरङ्ग आएको छ ।

मधेश भवनबाट बाहिर गई लुकीछिपी मुख्यमन्त्री नियुक्त गरिएपछि गठबन्धन दलहरू आक्रोशित बनेका छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको उल्लंघन गर्दै एमालेको पक्षमा खेल खेलेको आरोप लगाएका छन् । जनकपुरधाममा गठबन्धनका कार्यकर्ताले प्रदेश प्रमुखको कदमविरुद्ध नाराबाजी गरेका छन् ।

सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

तीन मन्त्री नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त भएलगत्तै उनले एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त गरेका छन् । संघीय समाजवादी र राप्रपाको एक–एक सिट छ ।

Author:



क्याटोगरी छान्‍नुहोस