तत्काल मुख्यमन्त्री बर्खास्त गरी राजनीतिक वातावरण बनाइयोस् : विश्लेषक साह

राजविराज । राजनीतिक विश्लेषक एवम् सामाजिक अभियन्ता तुलानारायण साहले मधेश प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति तथा शपथ षड्यन्त्रपूर्ण रहेको भन्दै अविलम्ब बर्खास्त गरी राजनीतिक निकास दिन आग्रह गरेका छन् ।

सोमबार उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री नियुक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उनले मधेशको राजनीतिक वातावरणलाई सहज बनाउने कार्य गर्न सङ्घीय सरकारसँग आग्रह गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । आफु अस्वस्थ्य भएकोले काठमाडौं जाने भनी मधेश भवन स्थित निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले बर्दिबास स्थित होटल पानसमा कात्तिक २३ गतेको मितिमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै पत्र दिएकी छिन् । उनले त्यही होटलमै राती नै यादवलाई शपथग्रहण गराएकी छिन् ।

मधेश प्रदेशमा विगत २ दिनदेखि भएका राजनैतिक गतिविधिहरु दुर्भाग्यपूर्ण रहेको भन्दै त्यहाँ रचिएका षड्यन्त्र र खेलिएका खेलहरु केवल जनकपुर वा मधेश प्रदेशमा मात्र सिमित रहने प्रकृतिको नरहेको उनले टिप्पणी गरेका छन् । यस्ता कार्यहरुले नेपालको लोकतन्त्र, सङ्घीयता, संसदीय प्रणाली एवं सामाजिक सदभावमा गम्भीर एवं दुरगामी प्रभाव पार्ने निश्चित रहेको भन्दै अगाडि लेखेका छन् ‘शनिबारको प्रदेश सभा बैठकमा दुईजना सभासदहरुबाट गरिएको अस्वभाविक तर रहस्यपूर्ण हर्कतले नै आइतबारको बर्दिबास नाटकको पृष्ठभुमि तयार पारेको थियो, यी दुबै घटना सुनियोजीत रुपमा एकै ठाउँमा एकै दिमागबाट रचिएको प्रष्ट छ ।’

समग्र एपिसोड मधेसी राजनीति र मधेसी लगायतका सिमान्तकृत समुदायहरुप्रतिको दुराग्रहपूर्ण सोच राखेर रचिएका राजनीतिक षडयन्त्र भएको भन्दै  यसको राजनैतिक प्रतिरोध हुनुपर्नेमा विष्लेशक साहले जोड दिएका छन् । कानुनी उपचारको नाममा राजनैतिक प्रतिरोधलाई रोकिए थप दुर्भाग्यपूर्ण समयको सामना गुर्नुपर्ने हुनसक्ने सम्भावना  व्यक्त गर्दै भनेका छन् ‘मधेस प्रदेश प्रमुखले हिजो जसरी षडयन्त्रपूर्ण तरिकाबाट मुख्यमन्त्रीको शपथ गराउनुभएको छ, त्यसको म घोर भत्र्सना गर्दछु ।’

वर्तमान सङ्घीय सरकारलाई उहाँलाई तत्काल बर्खास्त गर्नुपर्ने विचार व्यक्त गर्दै अगाडि टिप्पणी गर्दै लेखेका छन् ‘थप षडयन्त्रको तानाबाना बुन्ने कार्य रोकेर मधेशको राजनीतिक वातावरणलाई सहज बनाउने कार्य गर्नुहुन अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस