राष्ट्रपति पौडेलद्वारा मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ कात्तिक २५ गतेको निर्णय एवं सिफारिसका आधारमा सुवेदीलाई पदमुक्त गरिएको जानकारी दिएको हो ।

संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम राष्ट्रपतिले मधेश प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपतिको निर्णयसँगै मधेश प्रदेशमा नयाँ प्रदेश प्रमुखको नियुक्तिको बाटो खुलेको छ ।

सोमबार बिहान बर्दिवासस्थित होटल पानसमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । संविधानको धारा १६८(२) अनुसार गठबन्धनको दाबी विचार गर्न सकिने स्थिति हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा (३) का आधारमा एमाले नेता यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । उक्त नियुक्ति पश्चात मधेश प्रदेशमा राजनीतिक दल तथा प्रदेशसभा सदस्यहरुले विरोध जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८० फागुन २८ गते मधेश प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । उनले चैत ५ गते पदभार ग्रहण गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस