सम्भावनाको यात्रा

म दीपा यादव । एक साधारण गाउँकी, तर असाधारण सोच बोकेकी युवती । अहिले म बीबीए अध्ययनरत विद्यार्थी हुँ, तर मेरो सोच र सपना किताबका पानामा मात्र सिमित छैनन् । खेल खेल्न, नृत्य गर्न, गीत गाउन, कृषि गर्न, प्रकृतिसँग रमाउन—यी सबै मेरो आत्माभित्र बग्ने छुट्टाछुट्टै धारा जस्ता छन् ।
कहिले गीत गाएर आत्मालाई शान्त पार्छु, कहिले खेल्दै आफैलाई ऊर्जावान बनाउँछु, र कहिले रूखको छायामा एक्लै बस्दै मनलाई हलुका बनाउँछु । तर, कहिलेकाहीँ लाग्छ—के म धेरै नै रुचि बोकेकी त होइन ?

समाजले अक्सर भन्छ—“धेरै रुचि भएकालाई कुनै काममा गहिराइ हुँदैन ।”तर म विपरीत सोच राख्छु । म धेरै कुरामा रमाउँछु, अनेक कुरामा खुशी भेट्छु । त्यसैले म धेरै कुरा बन्न चाहन्छु । धेरै लेख्न, धेरै सिक्न र धेरै अनुभव सिक्न चाहन्छु ।

पहिले लाग्थ्यो—स्पष्ट लक्ष्य बिना केही हासिल हुँदैन । तर समयसँगै बुझें—दुविधा कमजोरी होइन, सम्भावनाको संकेत हो । किनकि म सबैमा अलि–अलि छु, किनकि म अझै निर्माणको यात्रामा छु ।

यो बाटो सजिलो छैन—समाजको सोच, परिवारका अपेक्षाहरू, अनि आफ्नै मनका द्वन्द्व—यिनै बाधाहरू बीच म अघि बढिरहेकी छु । कहिले–कहिले लाग्छ, “धेरै कुरा चाहनु गलत त हैन होला ?” तर मन भन्छ—“चाहना हुनु नै जीवनको सुरुवात हो ।”

म आफूलाई खोज्दै छु, अभ्यास गर्दै छु । जहाँ–जहाँ अवसर भेटिन्छ, म सहभागी हुन्छु—कहिले पत्रकारिता तालिममा, कहिले खेल प्रतियोगितामा । म सिक्दै छु—आफ्ना रुचिलाई कसरी सीपमा बदल्ने, दुविधालाई कसरी सम्भावनामा रूपान्तरण गर्ने ।

म खोज्दै छु त्यो स्थान, जहाँ मेरो रुचिले पहिचान पाओस् । म अझै सिक्दै छु, खोज्दै छु, तर आत्मविश्वासमा भने अडिग छु कि म जुनसुकै क्षेत्र रोजे पनि, अलग पहिचान दिन सक्छु । किनकि—रुचिहरू कमजोरी होइनन्, हाम्रा सम्भावना, हाम्रा पहिचान हुन् । दिपा, प्रशिक्षार्थी पत्रकार हुन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस