मधेशलाइभ डेस्क
राजविराज । बर्दियाको बढैयाताल–४, दक्षिण भकारी निवासी बाबु–छोरीले नागरिकताका लागि आत्महत्या गरेको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गर्दै क्षमायाचना गरेकी छिन् ।
गत कात्तिक २२ गते २२ वर्षीया अञ्जु थारूले नागरिकता प्राप्त गर्नका लागि अनावश्यक जटिल प्रक्रिया तथा परेशानी झेल्न नसकेर आत्महत्या गरेकी हुन् । छोरीको मृत्युले मानसिक पीडा सहन नसकेर कार्तिक २६ गते बुवा कान्छा थारु समेत आत्महत्या गरेका छन् ।
उक्त घटनाप्रति प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै उक्त घटनाले आफू अत्यन्त मर्माहत भएको बताएकी छिन् । “उहाँहरूको यस्तो निर्णय हाम्रो समाज र राज्यका लागि गम्भीर ग्लानिको विषय हो,” भन्दै उनले न्यायिक तथा प्रशासनिक झमेलाका कारण यस्तो परिस्थिति सिर्जना भएको हो भने प्रधानमन्त्रीको हैसियतमा आफू माफी मागेकाे उल्लेख गरेकी छिन् ।
घटनाको सत्यतथ्य पहिचान गर्न उनले गृहमन्त्रीलाई तत्काल अध्ययन र छानबिन गर्न निर्देशन दिएकी छिन् । कार्कीले नागरिकतासम्बन्धी प्रक्रियासहित लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा स्वीकार्य नहुने बताउँदै, ‘न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्नुपर्छ’ भनेर अपिल गरेकी छिन् ।