कर कार्यालय गाभ्ने निर्णय विरुद्ध रिले अनसनमा सरकार प्रमुखहरु

राजविराज । राजविराज स्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीले शुक्रवारदेखि राजविराजमा रिले अनसन थालेका छन् ।

गजेन्द्रचोकमा शुरु भएको पहिलो दिनको रिले अनसनमा जिल्ला समन्वय समितिका पदाधिकारी, राजनीतिक दलका नेता, जनप्रतिनिधी समेत सहभागी भएका छन् । बिहान ११.३० बजेदेखि शुरु भएको पहिलो दिनको रिले अनसनमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका कावा मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका वडा अध्यक्ष तेजनारायण यादव लगायतका जनप्रतिनिधिहरु सहभागी रहेको तयारी समितिका सदस्य जयनारायण यादवले जानकारी दिएका छन् ।

राजविराजस्थित करदाता सेवा कार्यालयलाई नै बढुवा गरी आन्तरिक राजस्व कार्यालयको रूपमा स्थापना गर्नुपर्ने एक मात्र मागसहित संघर्ष थालिएको संघर्ष समितिका संयोजक मोहन यादवले जानकारी दिएका छन् । गाभ्ने वा खारेज गर्ने कार्य अविलम्ब बन्द गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । माग पुरा नभएसम्म संघर्ष जारी रहने समितिका सयोजक यादवले जनाएका छन् ।

राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाताहरू छन् र गत आर्थिक वर्षमा यस कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो । सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान गर्ने नीति अघि बढाएको छ । Pic. Source: Social Media

Author:



क्याटोगरी छान्‍नुहोस