बैंक कर्मचारीमाथि कुटपिटमा संलग्न दुई पक्राउ, उपमेयर चौधरीसहित अन्य फरार

राजविराज । ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा असुलीका क्रममा अपमानजनक व्यवहार, शरीर बन्धक र ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

घटनासम्बन्धी जाहेरी अनुसार प्रहरीले खोजतलास गर्ने क्रममा सप्तकोशी नगरपालिका–७ का ५२ वर्षीय संजीव कुमार चौधरी र अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का ४७ वर्षीय अमाकान्त चौधरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत मंसिर २४ गते दिउँसो करिब ३ बजेदेखि बेलुका साढे ६ बजेसम्म सप्तकोशी नगरपालिका–७ स्थित सबकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि. परिसरमा घटना भएको थियो ।

कर्जा असुली प्रक्रियामा खटिएका बैंकका कर्मचारी सुनीत श्रेष्ठ र सविन कुमार श्रेष्ठलाई एक समूहले घेराबन्दी गरी जबर्जस्ती उक्त फर्ममा लगी कालो मोसो दल्ने, जुत्ताको माला लगाउने, फोटो–भिडियो बनाउने तथा कुटपिट गरेको प्रहरीले जनाएको छ । सोही क्रममा पीडितमध्ये एकजनाको सुनको औँठी र सिक्री समेत लुटपाट गरिएको उल्लेख छ ।

उनीहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसूरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय कञ्चनपुरमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उपमेयर चौधरी सहित अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस