प्रदेश सभाको साझा अभिभावकको भूमिकामा रहनेछुः सभामुख यादव 

जनकपुरधाम । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।
मधेश प्रदेश सभा कार्यालयमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख यादवले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेश सभाको साझा अभिभावकको भूमिकामा रहने स्पष्ट पारे । उनले निष्पक्ष, सन्तुलित र मर्यादित ढंगले सभाको सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेश प्रदेशका प्रमुख मुद्दा समावेशिता, सुशासन, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले बताए । प्रदेश सभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवा प्रवाहको गुणस्तर सुधारमा संसद् सशक्त हुनुपर्नेमा जोड दिए ।
सभासद् यादवले सोमबारै मुजेलिया स्थित सहीद गोटमा पुगेर सहीदहरुको प्रतिमामा माल्यार्पण गरेका छन् । तत्पश्चात सभामुख यादवले प्रदेशसभामा कार्यरत सरसफाइ कर्मचारीहरुलाई चिसोबाट जोगिन ब्ल्याङ्केट वितरण गरेका छन् ।
Author:



क्याटोगरी छान्‍नुहोस