मधेशलाइभ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित एसबीआई बैंकको शाखाबाट रकम लुट्ने पाँच जना पक्राउ पक्राउ परेका छन् ।
मङ्गलबार साँझ तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको नगद लुटपाट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चार–पाँच जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटेर फरार भएको थियो । लुटपाट रोक्ने प्रयास गर्दा सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन् र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
उक्त घटनापछि प्रहरीले सघन खोजतलास तथा चेकजाँच अभियानका क्रममा लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालक र अन्य गरी पाँच जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ बरामद भएको छ ।
प्रहरीका अनुसार लुटपाट योजनाबद्ध रूपमा गरिएको देखिएकाले संगठित गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ । बरामद हुन बाँकी रकमको खोजी तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।