राजविराज, २० माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा चुनावी छलफल र भेंटघाटलाई तीव्रता दिएसँगै विभिन्न पार्टीका नेता–कार्यकर्ता धमाधम पार्टी प्रवेश गर्न थालेका छन् ।
यसैक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् । यसअघि उनी जसपा नेपालकी केन्द्रिय सदस्यको जिम्मेवारीमा थिइन् । जसपा नेपाल विभाजन हुँदा उनी पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन् ।
पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार कलाकारिता क्षेत्रमा सक्रिय रहँदैआएका थारु नेता गोपाल प्रसाद चौधरी समेत हिजो पार्टी प्रवेश गरेका छन् । युवा नेता शिवशंकर यादव ‘शिवम’ समेत जसपा नेपाल प्रवेश गरेका छन् । पार्टी विभाजन हुँदा उनी अशोक राई नेतृत्वको जसपामा लागेका थिए । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनको प्रवेशले यूवा सङ्गठनमा थप उर्जा मिल्ने नेता साहले बताए ।
विगतका सहकर्मीहरु पुनः आफ्नै पुरानै घर जसपा नेपालमा धमाधम घर फर्किन थालेकोमा पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै खुशी व्यक्त गरेका छन् । शोषित उत्पीडित एवम् विभेदमा पारिएका जाती तथा समुदायको हक अधिकार तथा विकास र समृद्धिको स्पष्ट भिजन भएको पार्टी जसपा नेपाल नै भएको बताउँदै उनले मधेश विद्रोहबाट प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न विभिन्न तत्वहरु सक्रिय रहेकोले त्यस विरुद्ध एकतावद्ध अगाडी बढ्न समेत आह्वान गरेका छन् ।
यसैगरी मङ्गलबार सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६, बरदाही दलित बस्तीमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा नेपाली कांग्रेसका सकल देव राम र जनमत पार्टीका सीयाराम रामको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जसपा नेपाल प्रवेश गरेको पार्टीका केन्द्रीय नेता बिदेश्वर प्रसाद यादव ‘बिक्की’ जानकारी दिएका छन् ।
