
सीताराम अग्रहरी
गुलामी से मुक्ति पाना है तो संघर्ष करना पड़ेगा आपस में , एकतावद्ध हुए तो बड़े-बड़े ताकत होने घुटने टेके हैं
उपेंद्र यादवले दुई वर्षजति अघि एउटा प्रशिक्षण कार्यक्रममा गर्नुभएको यो टिप्पणी सामयिक र मार्मिक छ । उहाँ लडाकू राजनीतिज्ञ हुनुपनि उहाँका संघर्ष र इतिहासलेपनि बताउँछ। तर इतिहासलेमात्र वर्तमान चल्दैन। यो चुनावले उहाँको राजनीतिक जीवनको सबभन्दा ठूलो आघात दिएको छ। एउटा बिउ पनि बाँकी रहेन यस पटकको चुनावमा यसरी भन्छन् कोही कोही तर अर्द्ध सत्यमात्र हो ।
कांग्रेस एमाले जस्ता ठूला दलहरुका तुलनामा यो आघात धेरै ठूलो लाग्दैन। तथापि यो चुनावको परिणाम उपेन्द्र यादव र उहाँको पार्टी जसपा नेपालका लागि मात्र होइन सबै मधेसवादी दलहरूको लागि जीवन मरणको प्रश्न बनेको छ। उपेन्द्र यादवलाई यो आघात आकस्मिक रुपले परेको भने होइन। केही अघिमात्र जसपा नेपाल फुटेर ओली सरकारमा गएको कुरा बिर्सनु हुन्न। ११ सांसदबाट टुटेर जसपा नेपालमात्र ५ सिटमा सीमित भएको थियो। यद्यपि जसपाबाट फुटेर गएकाहरू पनि न घरका भए न घाटका भए। मिस्टर 10% मानिने सुमित साहले पैसाको खोलो बगाए तर ढले । यस परिपेक्षमा जसपा नेपालले शिक्षण प्रशिक्षण कार्यक्रम मात्र चलाएर ठूलो उपलब्धि पाउने सम्भावना त थिएन चार पाँचवटा सिट जित्न सक्ने अनुमान भने गरिएको थियो।
उपेन्द्र यादवले घन्टी घण्टा केही छैन भने पनि यो घण्टी घण्टा र बालेन फ्याक्टरले गर्दा मधेसका ठूला नेताहरू धराशायी भए। यसको अर्को एउटा महत्वपूर्ण पक्ष के थियो भने मधेसी जनतालाई पहिलोपटक मधेसी छौडा प्रधानमन्त्री बन्न लागेको आस पलाएको थियो। एकपटक हेरौँ न भन्ने खालको जन मनसाय देखियो।
आफ्नै भूमिमा न केवल उपेन्द्र यादवलाई मार पर्यो, पूर्व लोसपा घटक तथा राजेन्द्र महतो, प्रभु साह नराम्ररी पछारिए। चलाख अमरेश सिंह बालेनको पुच्छर समाएरमात्र जोगिए।
यस्तो परिणामको कारण एक त बालेनको हावा थियो र अर्को महत्वपूर्ण कारण मधेसवादी दलहरूको खस्कदो साख पनि । मधेस प्रदेश सबभन्दा ठूलो दल मधेसीहरूलको थिएन, मधेशीहरूले सबभन्दा मन नपराएको दल एमाले नै थियो । लोसपा र ठाकुर समूहको स्थिति झन् खराब छ। अहिलेको भोटिङ प्याटर्न हेर्यो भने शरतसिंह भण्डारीबाहेक लोसपा घटकको कहीँ अस्तित्व नै छैन।
यसरी हेर्दा महन्त ठाकुर समूहसँग मिल्नुको फाइदाभन्दा नोक्सान नै भयो उपेन्द्र यादव समूहलाई । महोत्तरीमा महन्त ठाकुरकी छोरी मीनाक्षीभन्दा हरिनारायण यादव बलियो प्रतिस्पर्धी हुन सक्थे। अहिले लोसपा घटकले काठमाडौँमा जुन समीक्षा बैठक गर्यो त्यसको दिशा नै गलत छ। मानौँ उनीहरूले मन पराएर बालेनलाई जयको मैदान खुल्ला गरिदिएका हुन्। गर्नुपर्ने बहस त के थियो भने कि कुनैबेला मधेशवादी दलहरूको दबदबा चलिरहेको मधेशमा ,तिनका आफ्नै कर्मभूमिमा यस्तो हविगत किन यस्तो भयो ?
जनता त निराश थिए , उदासीन थिए । किन ? यसको गम्भीर समीक्षा मधेशवादीहरुले कहिले गरेनन् । जनताले योभन्दा राम्रो जसपा योभन्दा राम्रो लोसपा यो भन्दा राम्रो जनमत पार्टी खोजेका हुन् यो सन्देश यिनले बुझ्न सकेनन् वा चाहेनन् । प्रदेश र केन्द्र सरकारमा अलिकता भागबण्डा मिलेपछि जोडतोडमै रमाइरहे । जनताले इज्जतसम्म जोगाइदिएका थिए यी पार्टीहरूका नेताहरूका केही भर्थेक गरिदिरहेका थिए। र त्यसैमा यिनीहरु सन्तुष्ट थिए। त्यसैले जवाफ बालेनको रुपमा एउटा नयाँ आश देखियो जनता उतैतिर लागे। र मजाले लागे।। यता चोकटा खाना गएकी बुढी झोलमा डुबेर मरी यस्तै यस्तै स्थिति भयो ।
मूलभूत प्रश्न जनताले के खोजिरहेको छ आफ्नो जनताका पीडा चाहना अपेक्षा र आकांक्षाहरूलाई कहिले पनि गम्भीर भएर बुझ्न र सम्बोधन गर्न सकेनन् सारमा कुरा यति हो। कृषि औजार कारखानालाई पुनर्जीवन दिनको लागि म्याग्दीबाट एउटा सच्चा नेपाली वीरगंज आउँदछन् र किताब बेचेर यसको कायाकल्प गर्ने संकल्प लिन्छन् मधेसी नेताले कुनै पाठ, प्रेरणा लिन चाहेनन्, सकेनन्।
शिक्षा स्वास्थ्य कृषि यो मधेश प्रदेशको लाइफलाइन हो। यसमा कहिले पनि गम्भीर भएर काम गरिएन, भएन। राजर्षि जनक विश्वविद्यालय एउटा आदर्श र मानक संस्था हुनसक्थ्यो अष्टावक्र र राजर्षि जनकको पावन पृष्ठभूमिमा एउटा आदर्श विश्वविद्यालय स्थापित हुनसक्थ्यो।
यसै गरि, मधेस कृषि विश्वविद्यालय उपेन्द्र यादवजीको एउटा राम्रो परिकल्पना थियो। अहमको टक्राउले यसले राम्रो आकार ग्रहण गर्न सकेन। खासगरी यसमा सीके राउत र उनका समूहको भूमिका सार्है नकारात्मक देखियो।
सीके राउतलाई यो निर्वाचनले एक किसिमले भित्तामै पुर्याइदियो। जसपा नेपालभन्दा पनि गत निर्वाचनमा गतिलो देखिएको जनमतको अवस्था दयनीय छ । नेताहरू प्राय व्यक्तिवादी हुन्छन् नै तर सीके यस मामलामा बढी नै देखिए। आफ्नै मुख्यमन्त्रीप्रति उनको व्यवहारले कति कटु स्थिति खडा गर्यो त्यसको उदाहरण त सतिशकुमार सिंह उनी विरुद्धखडा हुनु नै हो। सीके स्वयं सप्तरी २ बाट तेस्रो स्थानमा पुगे र उनका दाजु चन्द्रकान्त राउत पाँचौ स्थानमा ।
जसपामा सप्तरी ३ बाट उपेन्द्र यादव ,सप्तरी २ बाट उमेश यादव ,महोत्तरी २ बाट शरत सिंह भण्डारी, महोत्तरी ४ बाट सुरेन्द्र यादव, रौतहट ३ बाट गोविन्द चौधरी, बारा २ बाट रामकिशोर यादव निकटतम प्रतिद्वन्दी भने हुनसके । सिरहा ४ मा जसपाबाट जनमतमा आएका वीरेन्द्र महतो तेस्रा भए यो बाहेक काहिँपनि जनमतको उल्लेखनीय प्रदर्शन रहेन। जसपाको बबी सिंह गरि सप्तरीको तीन क्षेत्रमा ठीकठाक र केही हदसम्म बाराका चारै क्षेत्रमा राम्रो प्रदर्शन थियो। यसबाहेक मधेसका बाँकी छ जिल्लामा जसपाको प्रदर्शन सोचनीय रह्यो। पूर्व लोसपा मा केही बाँकी छ भने ती शरत सिंह भण्डारी नै हुन् महन्त ठाकुर हैनन्। उपेन्द्र यादवसँग नमिलेको भए ठाकुरलाई राष्ट्रिय सभामा पुग्न पनि मुस्किल थियो।
अब निष्कर्ष के त? खेल खतम? मेरो विचारमा नयाँ शक्ति उदयको प्रतीक्षामा छ। म फेरि भन्दछु। बालेन मधेसीका छोरा हुन् तर मधेसी होइनन् मधेसी हो भने प्रमाणित गर्न समयको प्रतिक्षा गर्नुपर्नेछ। र म अझै यो पनि मान्दछु। कि तमाम कमी कमजोरीका बावजुद असली पेडाको पसले मधेसवादी नेताहरू नै हुन्। सिके त शिखरमा पुगे र त्यहाँबाट स्खलित पनि भए। उपेन्द्र यादवले यस्ता उतार चढाव धेरै हेरेका छन् । तर अहिलेको प्रश्न के हो भने उनी र उनका पार्टी जनताका उपेक्षा आकांक्षा र सपनाहरूलाई बुझ्न सक्छन् राम्ररी राम्ररी बुझ्न सक्छन् र सही ढंगले अनुवाद गर्ने स्थितिमा छन्। मेरो विचारमा धेरै मुस्किल छ। उपेन्द्र यादवमा केही कुरा त बाँकी छ तर यो कुरा पक्कै हो उनी अब मधेसी जनाधिकार फोरमका लडाकु जुझारु उपेन्द्र यादव रहेनन। उनमा पुरानो हिम्मत हौसला कति बाँकी छ यो अप्ठ्यारो समयमा परीक्षण पनि हुनेछ।
अहिले पनि उपेन्द्र यादव लोसपा , जनमत मधेश सरकारमा महत्वपूर्ण दायित्वमा छन् उनीहरू मिलेर एउटा नयाँ रोड म्याप बनाएर इमान्दारीपूर्वक काम गर्छन् भने केही आश छ। स्थानीय निकायमा पनि यिनीहरूको उपस्थिति छ त्यहाँ पनि लुछाचुडी छाडी सुधार सहितको पार्टी र सुधारसहितको पद्धति विकसित गरी नयाँ ढङ्गले काम हुन सक्यो भने तिनीहरू शून्यबाट फेरि पलाउन सक्छन्।
मधेसवादी हारेका हुन् ,सकिएका होइनन् ।अवश्य बहारे फिर भी आएगी । जनताले सुशासनको नयाँ व्याख्या खोजेका हुन् मधेसवादी दलहरुले यो कुरालाई सिरोधार्य गरेनन् भने कुनै आस छैन।
लेखक अग्रहरी, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक हुन् । सं.