डा. बाबुराम भट्टराई
ऐतिहासिक जेनजी विद्रोहपछि युवाहरूको बाहुल्य सहित निर्वाचित नयाँ प्रतिनिधिसभाको कामकार्वाहीको शैली र निर्णयहरूको अन्तरवस्तु पनि नयाँ र रूपान्तरणकारी होस् भन्ने आमजनताको चाहना सफलिभूत पार्न सांसदहरूको पर्याप्त ध्यान पुगोस्।
पहिलो दिन (चैत १९) को बैठकमा सत्तापक्ष र प्रतिपक्षका भूमिका र प्रस्तुतिहरू स्वाभाविकै देखिएकाछन्। सत्तापक्ष जिम्मेवार र विनयशील बन्ने र प्रतिपक्ष आलोचक तर मर्यादित बन्ने बहुदलीय लोकतन्त्रको स्थापित मान्यता नै हो।
परन्तु हाम्रो संसदीय अभ्यास र परम्पराका केही नकारात्मक पक्षलाई सच्याएर प्रतिनिधिसभालाई दलीय/गुटीय/निजी स्वार्थपूर्तिको थलो सट्टा देश र जनताको पक्षमा जिम्मेवार र सशक्त व्यवस्थापकीय (सरकार, ऐनकानून, नीति-कार्यक्रम निर्माण) र सचेतकीय भूमिका निर्वाह गर्न निम्न कुराहरुमा ध्यान पुगोस्:
• संसदका नियमावली,कार्यविधि आदि असाध्यै कर्मकाण्डीय र अंकुशे प्रकृतिका छन्। तिनलाई समयानुकुल परिमार्जन र सुधार गरेर बढी लोकतान्त्रिक तथा परिणाममुखी बनाइयोस्।
उदाहरणार्थ, हामीकहाँ प्राय सबै विधेयक सरकारको तर्फबाट प्रस्तुत हुन्छन्; प्रायः सबै बिषयमा संसदीय दलले ह्वीप लगाउँछ; जति बहस छलफल गरेपनि कमा र फुलस्टप पनि नबदली विधेयक/प्रस्ताव ( खाशगरी बजेट प्रस्ताव) आदि पारित हुन्छन्। जसले सांसदहरूलाई रबर स्ट्याम्प मात्र बनाउँछ। यसमा छिटो व्यापक सुधार गर्नैपर्छ।
• सत्तापक्षले बहसै नगरी पेलेर जाने र विपक्षले सानो कुरामा पनि सदन अवरोध गर्ने अहिलेसम्मको खराब विरासतलाई छिटो पूर्णविराम लगाउनैपर्छ।
• देश संघीयतामा गैसकेको र तीन तहका अधिकार संविधानमै किटान भैसकेको अवस्थामा संघीय सांसदहरूले आफ्नो अधिकार र कर्तव्यको क्षेत्रको राम्रो हेक्का राखेर गहीरो तयारी गर्ने र सोही अनुसार संसदमा भूमिका निर्वाह गर्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्दछ।
• खाशगरी जेनजी विद्रोहपछिको अहिलेको विशिष्ठ अवस्थामा सांसदहरूले झिनामसिना कुरामा अल्झनु सट्टा मुख्यतः त्यो परिस्थितिको कारकतत्व रहेको देशको गहीरो अर्थ-राजनीतिक संकट र भू-राजनीतिक चुनौतिको दिगो समाधान खोज्ने कुरालाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नु अत्यावश्यक छ।
हार्दिक शुभकामना !! facebook