राजविराज, १६ जेठ । सप्तरीमा आज (आइतवार) थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट २१ र एन्टिजेन परिक्षणबाट १५ गरी ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजविराज नगरपालिकामा ६ महिलासहित ११ जना, कञ्चनरुप नगरपालिकामा ३ महिलासहित ९ जना, बोदे बरसाइनमा १ महिलासहित ३ जना, खडकमा एक जना पुरुष, सुरुङ्गामा १ पुरुष, अन्य ठाउँका १ महिलासहित ३ जनामा संक्रमण पुष्टि भएको हो । यसससहित सप्तरीमा संक्रमितको संख्या १७ सय १६ पुगेको छ । हाल १ हजार २२ जना सक्रिय संक्रमित छन् ।
यसैगरी आज १७ महिला र ४१ पुरुष गरी ५८ जना निको भएका छन् । यससहित निको हुनेको संंख्या ६१५ पुगेको छ । सप्तरीमा दोस्रो कोरोनाको लहर (वैशाख ३ गतेपछि) संक्रमणबाट ७९ जनाको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।