सप्तरीमा बढ्यो कोरोना, ४० जनालाई परीक्षण गर्दा २५ संक्रमित

राजविराज, १० साउन । सप्तरीमा एकै दिन २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आज (आइतवार) २५ जनामा संक्रमणमा पुष्टि भएको हो ।

कुल ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको उनले बताए । ‘यो अवस्था हेर्दा ६२ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ’ उनले भने–‘आजको संक्रमण दरअनुसार अहिले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता छ ।’

परीक्षणका लागि स्थानीय तहले पनि ध्यान दिनुपर्ने जरुरी रहेको उनले बताए । ‘यहाँ २/३ वटा बाहेक सबै स्थानीय तहहरु परीक्षण गराउन समक्ष छन्’ उनले भने–‘अन्यको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि परीक्षण हुँदै आएको छ ।’

उनका अनुसार थपिएका संक्रमितसँगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६४ जना पुगेका छन् । कोरोना संक्रमणबाट हालसम्म १५५ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस