सप्तरीमा ४५, ७१ र ८० वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका गरी स्वाब संकलन गरिँदै

राजविराज, २१ साउन । सप्तरीमा होम क्वारेन्टाइनमा बस्दै आएका एक ४५ वर्षीय पुरुषसहित तीन जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका रुपनी गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी राजगढ गाउँपालिकाका ७१ वर्षीय र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

रुपनी गाउँपालिकाका ती पुरुष डेढ महिनाअघि मलेसियावाट फर्किएर होम क्वारेटाइनमा बस्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष हरेराम यादवका अनुसार उनमा ज्वरो र दमको समस्या देखिएपछि गत मंगलवार राजविराजस्थित गजेन्द्रनारायण अस्पताल लगिएको थियो । सो अस्पतालमा उनको उपचार हुन नसकेपछि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने क्रममा मृत्यु भएको हो ।

परिवारका सदस्यले धरानवाट फर्काएर शव जलाउने तयारी गरिरहको अवस्थामा रोकेर स्वाब परिक्षण गर्ने तयारी भइरहेको जनाएको छ । यसैगरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर गत साउन १५ गते राजविरास्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको मंगलवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । तीन जनाको स्वाव संकलन भइसकेकोपछि अन्तिम संस्कारको अनुमति दिईने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस