त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्सन झा पहिलो पटक समेटिए

जनकपुरधाम । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए ।

सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्सनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन् । गुल्सनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेलले पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २/२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पीएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ । त्यसका लागि नेपाली टोली मंगलबार विहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पीएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ ।

त्रिकोणत्मक सिरिजअगाडि पीएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस