जनकपुरधाम, २३ साउन । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफु सामान्य अवस्थामा रहेको भन्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कोभिड महामारीको अवस्थामा काम गर्दागर्दै उनी विहीबार संक्रमित भएपछि मन्त्रालयको निवासमा होम आइसोलेसनमा बसेका हुन् । आफु हाल सामान्य अवस्थामा रहेको जानकारी दिँदै मन्त्री यादवले ‘म ठिक छु, हामी सबै मिलेर कोरोना विरुद्धको लडाई जित्नुपर्छ, र हामी जित्छौं पनि, यसकालागि प्रदेशका सम्पूर्ण जनताले आवश्यक सतर्कता अपनाउनु जरुरी छ ।’
कोरोना महामारी न्यूनिकरण एवम् नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी लगायतको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैप्रति उनले आभार प्रकट गर्दै थप सशक्त भएर जुट्न आग्रह गरे । प्रदेश सरकारले आफ्नो तवरबाट कोरोना महामारी नियन्त्रण गर्न हरसम्भव प्रयासरत रहेको जानकारी दिँदै मन्त्री यादवले आफु केही समयकालागि आइसोलेसनमा रहेको यथाशक्य चाँडो निको भएर कार्यक्षेत्रमा फर्किने विश्वास व्यक्त गरे ।
आफ्नो पिसिआर रिपोर्ट जाँच गर्दा कोरोना पोजेटिभ पाए लगत्तै आफु सुरक्षित साथ आइसोलेट भएको र आफुमा हालसम्म कुनै पनि लक्षण नदेखिएको उनले जानकारी दिए । ‘मधेश लाइभ डट्कम्’सँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले फ्रन्टलाइनमा काम गर्ने सबैलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे धेरैले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चिन्ता, चासो र सहानुभूति प्रकट गरेकोमा सबैप्रति उनले धन्यवाद एवम् आभार प्रकट गरेका छन् ।