तस्विर खिंचेको निहुँमा पत्रकार कर्णका परिवारजन कुटिए

राजविराज, २६ साउन । कोरोना महामारीको कहर रहेको अवस्थामा अत्यधिक मलामी सहभागी भएको तस्विर खिंचेको निहुँमा सप्तरीका एक पत्रकारका परिवार सदस्यहरु कुटिएका छन् ।

राजविराज नगरपालिका वडा नम्बर १ का ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कारमा सहभागीहरुको तस्विर खिंचेको निहुँमा स्थानीय पत्रकार परिष कर्णका परिवारजन कुटिएका हुन् । घर नजिकैको इदगाहामा अन्तिम संस्कारमा सहभागी भएको दृष्यको तस्विर पत्रकार कर्णले खिंचेका थिए । तस्विर खिंचेर उनी पत्रिकाको कार्यालयतर्फ लागेका थिए ।

पत्रकार परिषलाई नै लक्षित गरी कुट्न आएका आठ दश जनाको समूहले उनको घरभित्र पसेर आमा र दुई जना भाइलाई कुटपीट गरेको कर्णले बताएका छन् । उक्त समूहले घरभित्र पसेर कसले हाम्रो फोटो तान्यो ? भन्दै परिवारक सदस्यहरुमाथि हातपात गरेको कर्णले जानकारी दिएका छन् ।

यता नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले तस्विर खिँचेकै निहुँमा यसरी घरमै पसेर कुटपीट गरिएको कार्यको भत्र्सना गर्दै कुटपीटमा संलग्नलाई कार्वाहीको माग गरेका छन् । उक्त घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको भन्दै अविलम्ब यसलाई गम्भीरतापूर्वक लिन स्थानीय प्रशासनसँग अध्यक्ष खड्गाले माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस