सिके राउतका १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । प्रहरी हिरासतमा रहेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

संघिय खानेपानी तथा ढल निकास आयोजनाको कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना नेताकार्यकर्ता मंगलवार साँझ धरौटीमा छुटेका हुन् ।

धनुषा जिल्ला अदालतको आदेशमा पक्राउ परेका मध्ये १० जनालाई ५०/५० हजार र ७ जनालाई १/१ लाख रुपैया धरौटी राखेर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत कात्तिक ४ गते जनमत पार्टीका नेताकार्यकर्ताले संघिय खानेपानी तथा ढल निकास आयोजनाका निमित्त प्रमुख कुशवाहालाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर नालाको हिलो दली नगर परिक्रमा गराएका थिए ।

सोही घटनामा पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू धनिकलाल कापर, संजय प्रधान, विक्रमकुमार साह, रामकरण यादव, कैलाशप्रसाद साह, दिनेश रजक साफी, संजय कुमार सिंह, सञ्जय साह, सुन्दर मण्डल, महेश कुमार यादव र अमरनाथ साह पक्राउ परेका थिए । प्रहरीले उनीहरुविरुद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

रिहा भएका नेताकार्यकर्ताहरुले पार्टीका अन्य कार्यकर्ताहरुसहित जनकपुरमा विजयी जुलुश निकालेर एकआपसमा खुशी साटासाट गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस