टिपरले जसको परिवार उजाडियो

राजविराज, ९ पुस । ‘पापी टिपरले हामीलाई बेसहारा बनायो, के गरी खाने ?, आमालाई कसरी सम्हाल्ने र छ जना भाइबहिनीहरुलाई के गरी हुर्काउने/पढाउने ?’ सडक दुर्घटनामा बुवासहित दाजु (ठुलो बुवाको छोरा) र भाइ (ठुलो वुवाको नाती) गुमाएकी सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाकी १९ वर्षीया शिवकला कुमारीले भनिन्–‘सबै खोसियो, हाम्रो परिवारलाई आफ्नै सहारामा बाँच्न सक्ने अवस्थासम्म रहेन् ।’

गत विहिवार (पुस १ गते) दिउँसो लहान–ठाडी सडक खण्डमा प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स१क २६१ नम्बरको टिपरले ठक्कर दियो । ठक्करबाट शिवकलाका ५५ वर्षीय बुवा मोतीलाल यादव, दाजु ३० वर्षीय रामकुमार र भाइ ८ वर्षीय अभिषेकको मृत्यु भयो । दुर्घटनामा गम्भीर घाइते भएका शिवकलाकी बहिनी (फुफुकी छोरी) देविका अझै बोल्न सकिरहेकी छैन् भने अभिभावक नै गुमेपछि परिवार विचल्लीमा परेका छन् ।

‘बुवाले नै जेनतेन गरेर १० जनाको परिवार चलाउँदै आउनुभएको थियो, बुवा गएसँगै अहिले छाक टार्न समस्या आइलागेको छ’ शिवकलाले भनिन्–‘भाइबहिनीको पढाई पनि रोकिने अवस्था आइसकेको छ ।’ अभिभावक नै गुमेपछि अबका दिन कसरी बित्लान् भन्ने चिन्ताले आमाको पनि निद्रा हराइसकेको शिवकलाले दुखेसो गरिन् ।

शिवकलाकी आमासहित ३ र ५ वर्षीय भाइ तथा ६, ८, १०, १४ र २२ वर्षीया गरी ५ बहिनी छन् । जसमा ठुली बहिनीको मात्रै विहे भएको छ भने शिवकलाकी आमासहित ७ जना बालबालिकाको सहारा नै मोतीलाल थिए । खेती किसानी र मजदुरी गरेर परिवार चलाउँदै आएका मोतीलालको मृत्युले परिवारमा पिडा छाएको पीडित परिवारको कथन छ ।

शिवकलाका बुवा मोतीलालसँगै दुर्घटनामा ज्यान गुमाएका रामकुमारकी ३० वर्षीया श्रीमति अनिशादेवी र बुवा जलेश्वर यादवको आँखामा अझैं आँसु सुकेको छैन् । गत फागुनमै विवाह भएको अनिशा सुत्केरी भएको तीन साता मात्रै भएको छ ।

पहिलो सन्तानको रुपमा छोराको जन्म भएसँगै परिवारमा खुसियाली छाएता पनि त्यो खुसी भने धेरै दिन टिक्न नसकेको प्रति अनिशादेवी अझैं अर्धचेत अवस्थामै छन् ।

त्यस दिन रामकुमारले भाइ शिवकुमारका छोरा अभिषेक र भान्जी देविकालाई लिएर लहानको विद्यालयमा छोड्न हिँडेका थिए । उनीसँग काका मोतीलाल पनि थिए । त्यही क्रममा दुर्घटना भएर बुढेसकालमा सहारा गुमाउनु परेको रामकुमारका ७० वर्षीय जलेश्वर यादवले बताए । ‘बुढेसकालमा बेसहरा हुनु पर्यो, योभन्दा दुखद् अरु के हुनसक्छ’ आँसु झार्दै उनले भने–‘अब आफु, बुहारी र अबोध बालकको जीवन निर्वाह कठिन हुन पुगेको छ ।’

एकै परिवारका तीन पुस्ताको ज्यान गएको सो दुर्घटनाले सिंगो दिघिया गाउँ नै शोकमा छन् भने आर्थिक रुपमा कमजोर रहेको ती परिवारका बालबालिकालाई पठ्नपाठनमा सहयोगको खाँचो रहेको स्थानीयहरु बताउँछन् । ‘अझैं गाउँ शोकमग्न छ, गाउँकै लागि अकल्पनिय क्षति हो’ स्थानीय इन्द्रदेव यादवले भने–‘दुर्घटनाले निम्त्याएको पिडा परिवारमा कहिले नमेटिने घाउ बनेको छ ।’

उनले बालबालिकाको पठ्नपाठनमा सघाउन स्थानीय सरकारका साथै सबैमा आग्रह समेत गर्नुभएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस