नयाँ वर्ष मनाउन जानकी मन्दिरमा भारतीयको लर्को

जनकपुरधाम । अन्तर्राष्ट्रिय नयाँ वर्ष मनाउनका लागि जानकी मन्दिरमा भारतीय नागरिकको लर्को लागेको छ। नयाँ वर्ष सन् २०२२ को पहिलो दिन भारतको विहारका विभिन्न स्थानबाट आज बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुहरु पूजापाठ गर्न पुगेका छन्।

कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण कम भएसँगै भारतीय पर्यटकहरु जनकपुरधाम आएका छन्। भारतको विहार र नेपालका विभिन्न ठाउँबाट आज जानकी मन्दिर पुग्नेहरुको संख्या बढिरहेको छ।

विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरिएको छ। जानकारी मन्दिर पुग्ने सडकभरि भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीको लर्को देखिन्छ।

भारतको विहार राज्य मधुवनीबाट आएका मनोज यादवले नयाँ वर्षको सुरुवात जानकी मन्दिरमा पूजा गर्दा झन् राम्रो हुने विश्वासका साथ पूजापाठ गर्न आएको बताए।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अंग्रेजी वर्षमा यस पटक अत्यधिक श्रद्धालु भक्तजन आएको बताए। ‘हामी अंग्रेजी वर्ष त मनाउँदैनौं, हामी धार्मिक मान्छे छौँ, विक्रम संवत् नै मनाउँछौँ’, उनले भने, ‘तर नयाँ वर्ष जसको भए पनि श्रद्धाले पूजापाठ गरेर मनाउनु राम्रो हो।’

छोटे महन्थ दासले नयाँ वर्षमा पहिले माछामासु र मदिरा खाएर मनाउने गरे पनि अहिले पूजापाठ गरेर मनाउन थाल्नु सकारात्मक भएको बताए। ‘माछा, मदिरा, रक्सीले जहिल्यै हिंसाकै ठाउँ लिन्छ। संस्कारको बोध गराउँदैन’, उनले भने, ‘अहिले संस्कारमा आउनु ठूलो उपलब्धि हो।’

पछिल्लो समय नयाँ वर्ष पारेर जानकारी मन्दिर आउने भारतीय नागरिकहरुको संख्या बढेको छ। विहारमा मदिरा बन्द रहेका कारणसमेत नेपाल आउने भारतीयहरुको संख्या बढिरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस