आज मकर संक्रान्ति र माघी पर्व मनाइँदै

जनकपुरधाम, १ माघ । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिनमा मनाइन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति भनिन्छ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा पनि धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरूका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नास हुने धार्मिक विश्वास छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Author:



क्याटोगरी छान्‍नुहोस