भदौ १६ गतेबाट नियमित उडान खुला गर्ने

जनकपुरधाम । सरकारले भदौ १६ गतेबाट नियमित उडान खुला गर्ने भएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको हो ।

पीसीआर गर्न गाह्रो भएका कतार, साउदी, कुवेत, लगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ ।

त्यसरी आउँने यात्रुले काठमाडौं ओर्लिएपछि ७ दिन आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्नुपर्नेछ । स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस