काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना समक्ष उनीहरुले शपथ लिएका हुन् ।
सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गरेका छन् । सपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।
सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।