प्रहरी हिरासतमा युवकको मृत्यु, आफ्न्तद्वारा प्रहरी कार्यालय घेराउ

जनकपुरधाम । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका-८ का एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका १९ वर्षीय विजय महराको गए राति मृत्यु भएको हो । वडा नम्वर ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा महरासहित सात जनालाई पक्राउ गरेको थियो ।

‘महराको दुवै मिर्गौलामा समस्या आएपछि बुधबार मध्य राति वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो’ जिल्ला प्रहरी कार्यालय रौटहटका डिएसपी भरत श्रेष्ठले भने–‘उपचारकै क्रममा उनको मृत्यु भयो।’

उनका अनुसार महराको मिर्गौलामा समस्या थियो । घटनामा उनीसँगै अजयकुमार रन्जन, शेख आजाद, विवेक राय यादव, अर्जुन राम, शिकिन्द्र पासवान र विजय राम पक्राउ परेका छन् ।

उता, मृतक महराको बुवा पनिलालले हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको आरोप लगाए । छोरालाई हत्यामा फसाउन प्रहरीले कुनै कसर नराखेको उनले दाबी पनि गरे ।

विजयका आफ्न्तका साथै दलित अगुवाहरुले विहिवार घटनाको छानबिन गरी दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै ईलाका प्रहरी कार्यालय गरुडा घेराउ समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस