१५ हजार ९७२ उम्मेदवार ३० वर्षमुनिका

काठमाडौं, २२ बैशाख । राजनीतिक दलहरूप्रति आम नागरिकमा वितृष्णा बढिरहेका बेला युवा पुस्ता भने यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमार्फत नेतृत्व लिन सक्रिय देखिएको छ।

आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व लिन २१ देखि ९४ वर्षसम्मका व्यक्तिहरू चुनावी प्रतिस्पर्धाको तयारीमा छन् । २१ वर्ष उमेर समूहका ४ सय १२ युवा स्थानीय तहका विभिन्न पद हासिल गर्न चुनावी मैदानमा होमिएका छन् । तीमध्ये २ सय ९ जना महिला छन् भने प्रमुख/अध्यक्षमा उम्मेदवारी दिनेको संख्या २६ छ ।

स्थानीय चुनावमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ३० वर्षमुनिका १५ हजार ९ सय ७२ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तयार पारेको अन्तिम उम्मेदवारी सूचीमा कायम रहेका १ लाख ४५ हजार ८३ उम्मेदवारमध्ये ३० वर्ष मुनिका महिला उम्मेदवारको संख्या ७ हजार ४ सय ९७ र पुरुषको संख्या ८ हजार ४ सय ७५ रहेको छ ।

कुल उम्मेदवारमध्ये ५५ हजार ७ सय १९ जना महिला र ८९ हजार ३ सय ६४ जना पुरुष छन् । सबैभन्दा बढी ३१ देखि ५० उमेर समूहका विभिन्न व्यक्तिले मनोनयन दर्ता गरेका छन् । ३० वर्षमुनिका मध्ये सबैभन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी परेको छ, जसको संख्या ३ हजार २ सय ८८ छ । त्यसैगरी नेपाली कांग्रेसबाट ३ हजार २२ जना, नेकपा माओवादी केन्द्रका तर्फबाट २ हजार २ सय ८४ जना युवा उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ हजार ५ सय १३ जना, स्वतन्त्रबाट १ हजार ४ सय १४ जना ३० वर्षभन्दा कम उमेरका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का तर्फबाट १ हजार १ सय जना, जनता समाजवादी पार्टी (जसपा)बाट ८ सय ४३ र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट ३ सय ४५ उम्मेदवार ३० वर्षमुनिका छन् ।

अन्य पार्टीबाट २ हजार १ सय ६३ जना कम उमेरका उम्मेदवार छन् । स्थानीय चुनावमा ७९ राजनीतिक दलले भाग लिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एस, जसपा, राप्रपा, लोसपालगायत स्वतन्त्रबाट गरी ३१ देखि ५० वर्ष उमेर समूहका ८९ हजार २ सय ३२ जनाले उम्मेदवारी दिएका छन् । ५१ देखि ७० वर्षसम्मका ४० हजार ७ सय ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन्। ७१ देखि ९४ वर्ष उमेर समूहका १ हजार ८ सय ५१ जना चुनावमा भिड्दैछन् । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस