चुनावी सरगर्मीले छुन नसकेको मुसहर बस्ती

राजविराज, २२ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चुनावी सरगर्मी निकै तात्न थालेको छ । विभिन्न पार्टीका उम्मेदवार दिनभरि र राति अबेलासम्म पनि भोट माग्न घर घर धाइरहेका छन् ।

गाउँमा चुनावी माहोल रहे पनि वडा नम्वर ५ स्थित मुसहर बस्तीका विपन्न समूदायलाई भने चुनावी सरगर्मीले अझै छुन सकेको छैन् । एक सय ५० जति घर दुरी रहेको सो मुसहर बस्तीका चुनाव प्रति उदासिन झै छन् । कारण हो उनीहरुका समस्या प्रति जनप्रतिनिधिहरुको उदासिनता । वर्षामा डुवान, बाटोघाटोको कठिनाइ, गरिबी, बेरोजगारी लगायतका समस्याले पीडित रहेका उनीहरु जसले जिते पनि आफुहरुका लागि केही गरिदेलान भन्ने आशा मरिसकेको बताउन थालेका छन् । ‘पहिले पनि यसैगरी अनेक सपना देखाउँदै भोट मागेका हुन’ स्थानीय जलेश्वरी देवी सदाले भनिन्–‘सपना सपनामै सिमित भयो, काम केही पनि भएन ।’

बस्ती छेउकै पोखरीमा वर्षायाममा पानी जमेर घर डुवानमा पर्ने गरेको वताउँदै उनले पानी निकासीका लागि जनप्रतिनिधिलाई भन्दा समेत कुनै सुनुवाई नभएको पीडा पोखिन् । ‘हामी जस्ता असहायलाई डुवानमा परेको बेला पनि हेर्दैन भने जनप्रतिनिधिको के काम?’ उनले थपिन–‘काम हुनेछ भने विश्वास जसले दिलाउन सक्छ हामी उसैलाई भोट दिन्छौं ।’

सोही बस्तीकी ७५ वर्षीया बुलो सदाले गाउँमा उपचारको व्यवस्था नरहेको बताउँदै विरामी परेको बेला आफुहरुलाई पैसा तिरेर उपचार गर्न पनि समस्या रहेको पीडा पोखिन् । वडामा रहेको स्वास्थ्य संस्थामा निःशुल्क औषधी दिने भनिए पनि लिन गएको बेलामा रित्तो हात फर्किएर आउनुपरेको उनको भनाई छ ।

चुनावका बेला जुलुसमा जानलाई बोलाएर दिनभरि घुमाउँदै भोकभोकै फर्काइदिएको कारण मुसहर बस्तीकी बुल्नतीदेवी सदा निराशा व्यक्त गर्छिन् । दलित बस्तीमा कतिपयले जनता आवास कार्यक्रमबाट निःशुल्क पक्की घर पाएको तर आफुहरुकालागि कुनै जनप्रतिनिधिले पहल नगरिदिएकोमा असन्तुष्ट छिन् उनी ।

एक सय ५० घर दुरीमा एउटा मात्रै ट्युवेल रहेका कारण पिउने पानीको समेत अभाव खेप्नु परिरहेको उनीहरुको भनाई छ । पानीसम्म पिउन नपाएको बारेमा जनप्रतिनिधिहरुलाई भन्दा पनि कुनै व्यवस्था नगरिदिएको जलेश्वरी देवी सदाले गुनासो सुनाइन् । ‘रोजगारीको व्यवस्था गर्ने भनि पहिले पनि आश्वासन नदिएका होइन’ उनले भनिन्–‘हाम्रा यावत समस्याको बारेमा समाधान जसले गर्छु भनि विश्वास दिलाउँला उसलाई मात्र मतदान गर्नेछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस